काठमाडौँ । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले...

पुरा पढ्नुहाेस्

एमाले पोखराको नेतृत्व लिन पृथ्वीसुब्बा र खगराज समूहको हानाथाप

4.85K
shares
khanepani bord

काठमाडौ । काठमाडौ एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको जारी महाधिवेशन प्रक्रियाबाट देशभरका कमिटी सर्वसम्मत निर्वाचित होस् भन्ने चाहन्छन्। उनकै चाहना र निर्देशनमा देशभरका वडा र पालिका अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत कमिटी बनेका छन्।

ओलीकै बाहुल्य रहेको पोखराका वडा अधिवेशन सर्वसम्मत भए पनि महानगर कमिटीको अधिवेशनमा भने सहमतिको छाँट छैन, निर्वाचनमा जान ओलीकै चाहनाले रोकेको उम्मेदवारकै आकांक्षीहरू बताउँछन्।

देशका अन्य पालिकामा झैं पोखरा महानगर कमिटी अधिवेशनको पनि पनि मंगलबार भव्य उद्घाटन भएको थियो। उद्घाटन सत्रलगत्तै सुरू भएको बन्द सत्रमा अध्यक्ष र सचिवको प्रतिवेदन पारित र उम्मेदवारको मापदण्ड सुनाएर स्थगित भएको थियो। पोखरा महानगर कमिटीको नेतृत्व बुधबार छान्ने गरी स्थगित भए पनि नेतृत्वका लागि न निर्वाचन भयो, न त सहमति नै।

एमाले पोखरा महानगर कमिटीको अध्यक्षका लागि ५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जसमा तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठी र दीलिप न्यौपाने अध्यक्षका दाबेदार छन्। उनीहरू कसैले पनि उम्मेदवार फिर्ता नलिने बरू निर्वाचन लड्न तयार रहेको बताइरहेका छन्। नेताहरू भने सर्वसम्मतिका लागि अध्यक्षका आकांक्षीलाई फकाउनै व्यस्त छन्।

पोखरा महानगर कमिटीमा सहमति नजुटेपछि बिहीबार सहमति जुटाउने नाममा फेरि नेतृत्व चयन प्रक्रिया स्थगित भएको छ। बिहीबार १ बजेसम्म सहमतिका लागि प्रयास गर्ने सहमति नभए निर्वाचनमा जाने गरी तयारी भएको एमाले कास्कीले जनाएको छ। पोखरामा सहमतिका लागि पनि नेताहरू दुई ध्रुवमा बाँडिएका छन्।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ पक्षले एकथरी र पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य खगराज अधिकारी पक्षले अर्काथरी उम्मेदवारका नाममा सहमति जुटाउन खोजेका छन्। दुबै पक्ष अध्यक्ष ओली गुटका भए पनि प्रदेशमा आफ्नो वर्चस्व कायम राख्न पोखरामा केन्द्रीत भएका छन्।

एमालेको आन्तरिक राजनीतिमा सचिव गुरुङ काठमाडौं बसेर राजनीति गर्थे। अर्का नेता अधिकारी भने पोखराकै भएकाले उनले पोखराको पार्टी कमिटी र अन्य संस्थामा नियुक्तिदेखि बढुवामा चलखेल गर्थे।

जब गुरुङ मुख्यमन्त्री बनेर पोखरा बस्न थाले, पार्टीका तर्फबाट क्याम्पस, विश्वविद्यालयदेखि पोखरामा रहेका विभिन्न संस्थामा नियुक्तिदेखि कर्मचारी सरुवा बढुवामा समेत गुरुङले हस्तक्षेप गर्न थाले।

एमाले कास्कीका एक नेताका अनुसार २०७४ को स्थानीय निर्वाचनदेखि नेताद्वय गुरुङ र अधिकारीबीच सम्बनध चिसिएको हो। पोखरा महानगरको मेयरका लागि अधिकारीनिकट एमाले कास्कीका अध्यक्ष कृष्ण थापा उम्मेदवार बन्न चाहन्थे भने केन्द्रीय सदस्य मानबहादुर जिसीलगायत नेता पनि मेयरको दौडमा थिए।

मेयरको उम्मेदवार बन्न एमालेले पोखरामा निर्वाचन गरायो, निर्वाचन जितेर जिसीले टिकट पाए। जिसी गुरुङनिकट हुन्।

त्यसयता, यी दुई नेताबीच पार्टी संगठनदेखि अन्यत्र पनि प्रतिष्पर्धा हुन थालेको हो। गण्डकीका पालिकाहरूमा यी दुई नेताले धेरै चासो नदिए पनि पोखरा महानगर कमिटीमा भने आआफ्नो उम्मेदवार अघि सारेका छन्।

पोखरा महानगर कमिटीको अध्यक्षका लागि गुरुङको समर्थनमा हालका अध्यक्ष दीपक पौडेल र तेजनाराय अधिकारी छन् भने अधिकारीको तर्फबाट दीलिप न्यौपाने र हरिप्रसाद त्रिपाठी रहेका छन्। अर्का उम्मेदवार धनबहादुर नेपाली हाल पोखरा महानगर वडा नं ५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता हुन्। मेयर जिसीले गुरुङकै पक्षमा समर्थन जनाउन नेपालीलाई अघि सारेको एमाले वृत्तमा चर्चा छ।

गुरुङका तर्फबाट उम्मेदवार बनेका तेजनारायण यसअघि नै पोखरा नगर कमिटीमा २ पटक सम्हालेका छन्। हाल उनी एमाले कास्की जिल्ला सचिवालय सदस्य हुन्। यस्तै, दीपक पौडेल जिल्ला सदस्य हुन्। यसअघि नेता खगराज अधिकारी निकट मानिएका दीपक एकाएक गुरुङको पक्षमा गएर एक हप्ता अघिमात्रै नगर कमिटीको अध्यक्षमा मनोनित भएका थिए। यसअघि एमाले र माओवादी एकतापश्चात बनेको नेकपामा पनि दीपक महानगर कमिटी अध्यक्ष बनेका थिए।

अधिकारीका तर्फबाट उम्मेदवार बनेका दीलिप न्यौपाने एमालेनिकट अनेरास्ववियुमा काम गरेका थिए। पार्टीको जिल्ला कमिटीमा रहेर विद्यार्थी फाँट हेरेका दीलिप पहिल्यैदेखि अधिकारीनिकट थिए। युवा नेतृत्व भएकाले नयाँ पुस्तालाई ध्यानाकर्षण गराउन पनि अधिकारीले दीलिपलाई अघि सारेका हुन्।

अधिकारीनिकट अर्का उम्मेदवार हरिप्रसाद त्रिपाठी भने एमालेको बुद्धिजिवी इलाकामा काम गरेका थिए। वन विज्ञान अध्ययन संस्थानमा अध्यापन गराएका त्रिपाठी अवकाश लिएर एमालेको राजनीतिमा सक्रिय भएका छन्।

यी पाँच जना उम्मेदवारमध्ये अधिकारीनिकट मानिएका दीलिपलाई अध्यक्षमा निर्वाचित गराउन दुबै नेता सहमतिनजिक पुगेको जनाएको छ। युवा नेता दीलिपप्रति गुरुङको पनि सद्भाव रहेकाले उनकै नाममा सर्वसम्मत हुने वा निर्वाचन भए पनि उनले नै जित्ने एमाले कास्कीका एक नेता बताउँछन्। तर, गुरुङका तर्फबाट उम्मेदवार बनेकाहरूले नछाड्ने संकेत गरेकाले बिहीबार निर्वाचन हुने पक्कापक्की देखिएको छ।

पोखरा सभागृहमा जारी अधिवेशनमा नेतृत्व छान्न निर्वाचनका लागि आवश्यक तयारीसमेत भइसकेको छ। अधिवेशन स्थलमा निर्वाचन गराउन आवश्यक मतपत्र र ब्यालेट बक्सको व्यवस्थासमेत गरिसकेको छ।

पोखरा महानगरको अधिवेशन गराउन अध्यक्ष मण्डलमा प्रतिनिधि सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य खगराज अधिकारी, गण्डकीका अध्यक्ष जगतबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य सीता ओली गिरी, भीम कार्की, जिल्ला अध्यक्ष कृष्ण थापा, प्रदेश सदस्य बालकृष्ण काउछा र अनुशासन आयोगका सदस्य मित्रकुमारी सुवेदी छन्।

अध्यक्ष मण्डलमा रहेका प्रदेश अध्यक्ष विश्वकर्मा, कार्की र काउछा गुरुङनिकट छन् भने बाँकी अधिकारीका पक्षमा छन्।

एमालेमा ओलीका प्रतिष्पर्धी माधवकुमार नेपाल समूह बाहिरिएर सबै ओली गुटमात्र बाँकी रहेकाले सर्वसम्मत नेतृत्व छान्न दबाब छ। ओली समूहभित्रै पोखरामा देखिएका दुई थरी समूहले सर्वसम्मत हुन नदिएको अध्यक्ष मण्डलका एक सदस्यले बताए। यी दुबै नेताले चाहेको खण्डमा भने पोखरामा पनि अन्यत्र जस्तै सर्वसम्मत कमिटी चयन हुने उनको विश्वास छ।

पोखरा महानगर कमिटीमा अध्यक्षसहित १०१ सदस्यका लागि २९४ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिवका लागिमात्रै ३४ जनाले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी फिर्ता लिने समय बिहीबार दिउँसोसम्म राखिएको छ। गुरुङ र अधिकारी समूहबाट अध्यक्षका उम्मेदवार देखिए पनि पदाधिकारी र सदस्यमा भने कुन समूहको भनेर खुलेका छैनन्। निर्वाचन हुने पक्कापक्की भए प्यानल नै बनाएर जाने अध्यक्षका एक उम्मेदवारले बताए।

IME
khanepani