
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएपछि नेपाल विद्युत प्राधिकरणले चासो बढाएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरुसहितको टोलीले शनिबार निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
प्राधिकरणको टोलीले टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी २०७९को पुसभित्र कुनैपनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ ।
अहिले आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ ।
विद्युत् गृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासको क्षेत्रमा आएको बाढी-पहिरोको र कोभिड-१९को महामारीको चपेटामा आयोजना परेको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्टि्रकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।
कार्यकारी निर्देशक घिसिङले प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मुख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति राम्रो देखिएको बताए ।
‘आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले महंगो व्याजदरमा ऋण काढेर भएपनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका छन्, निर्माणमा ढिलाइ हुँदा आयोजानको लागत बढिरहेको छ भने विद्युत बिक्रीबाट प्राप्त हुने अम्दानी गुम्दा लगानीकर्ताले प्रतिफल पाउन सकिरहेका छैनन्’, घिसिङले भने, ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी संधै तयार छौं, आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौं, अब संसेाधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’
प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको उल्लेख गर्दै बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्