मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने गठबन्धनको निर्णय

विराटनगर । प्रदेश १ मा रहेको पाँच दलीय गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । कात्तिक ७ गते आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसभित्रको किचलोका कारण विश्वासको प्रस्तावमाथि छलफल र मत विभाजनका लागि प्रदेशभाको बैठक सोमबारसम्मका लागि सरेको थियो ।

सोमबारको मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबादुर आङ्बोले बताए । उनका अनुसार बैठकले गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने पनि निर्णय गरेको छ ।

अल्पमतमा रहेका मुख्यमन्त्री आचार्य पदमुक्त भए प्रदेश प्रमुखले सोमबार नै प्रदेश सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ । आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको गठबन्धनले प्रदेश प्रमुखबाट आह्वान भएपछि राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो ।

बैठकले मन्त्रालय भागबण्डा र कांग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्तिपछि छलफल गर्ने निर्णय गरेको आङ्बोले बताए ।

मुख्यमन्त्रीमा कांग्रेसले आलोपालो हुनुपर्ने दाबी गरिरहेको छ । कांग्रेसको मागका विषयमा गठबन्धनमा रहेका दलहरुले शीर्ष नेतालाई जानकारी गराउने सहमति गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने निर्णय भएको बताए । आलोपालोको विषय कांग्रेसको आन्तरिक विषय रहेको उनले बताए ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशमा बहुमतका लगि ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।

१४,कार्तिक.२०७८,आईतवार १७:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्