
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बस्नुपर्ने बताएका छन् ।
उनले न्यायालयमा देखिएको विवादले लोकतन्त्रलाई नै समस्यामा पार्न सक्नेतर्फ सचेत गराउँदै सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताएका हुन् ।
कांग्रेस शंखरापुर नगरपालिका ४ ले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले भने, ‘सर्वोच्च अदालतमा लामो समयदेखि जुन खालको विवाद देखिएको छ, यो लम्बिनु हुन्न । यसको निकासका लागि तत्काल सर्वदलीय बैठक बस्नुपर्छ ।’
उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै कांग्रेसले न्यायालयमा देखिएको संकट समाधान गर्न अग्रसरता लिनुपर्ने बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्यपालिकासँग स्वार्थपूर्ण लेनदेन गर्न खोजेको आरोप लागेको हो । सर्वोच्चका अधिकांश न्यायाधीशहरु प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आएका छन् ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएनलगायतका संघसंस्थाहरु पनि प्रधानन्यायाधीशको विरुद्धमा आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस्