तिहार भित्रिएसँगै माटाका भाँडाको बिक्री बढ्यो, व्यवसायी भन्छन् तर अघिल्ला वर्षमा जस्तो व्यापार छैन

रुपन्देही । तिहार नजिकिएसंगै माटाका भाँडा बनाउने र बिक्री गर्नेहरुको व्यापार ह्वात्तै बढेको छ । माटाका भाँडा बनाएर आफ्नो जीविका चलाउने पुख्र्यौली पेसाको संरक्षण गर्दै आएका व्यक्तिहरुले नै यसलाई निरन्तरता दिइरहेका छन् । तर ‘सिजनल व्यापार’मा भर पर्नु परेकाले व्यवसायको भविष्य अनिश्चित भएको पीडा माटाका भाँडा बनाउनेहरुको छ ।

पहाडमा कुमाल समुदायले र तराईमा कोहाँर, बानियाँ, गुप्ता, अग्रहरी समुदायले माटाका भाँडा उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । सिजनल व्यापारका लागि अन्य समुदायले प्रयास गरे पनि वर्षभरी यहीं पेसा गरेर जीविकोपार्जन गर्नेहरुलाई प्लाष्टिकका भाँडाले प्रभावित बनाएको छ ।

बुटवलको भुड्कीचोकमा लामो समयदेखि माटाका भाँडा बेच्दै आएका ४५ वर्षीय अर्जन बानियाँ पहिलेको तुलनामा माटाका भाँडा कम बिक्री हुँदा खर्च चलाउन समस्या परेको बताए ।

आजभोलि प्लाष्टिकको भाँडाको बढ्दो प्रयोगले माटोको भाँडा बनाउने पेसाप्रति निराशा बढेको छ । घैंटो, दीयो, कलशलगायत माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका उनीहरुकोे पेसामा पछिल्लो समय प्लाष्टिकका बाल्टिन, जग, डस्ट्विन लगायतका सामानमा मानिसहरुको आकर्षणले निरुत्साहन थपेको हो । त्यस्तै नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठमा पनि मैनबत्ती र झिलिमिलि बत्तीकै बढी प्रयोग भएको देखिन्छ ।

बुटवलमै माटका भाँडा बेच्ने ४० वर्षीय सन्तोषकुमार अग्रहरीले प्लाष्टिकका सामानहरुले आफ्नो व्यवसाय नै संकटमा परेको बताए ।

विगत ५० वर्षदेखि पुख्र्याैली पेसाको संरक्षण गर्दै आएका ओमसतिया–४ बेतवलियाका दुखी कोहाँर र उनकी श्रीमती इश्रावती कोहाँर चक्रमा राखेको माटोमा कला उतार्ने गर्दछन् । उनीहरुको एउटै उद्देश्य छ, चाडपर्वको बेला सबैलाई सहजरुपमा माटोका भाँडाहरु उपलब्ध गराउने ।

अन्य समयमा माटाका भाँडाहरु फाटफुट बिक्री भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको उनीहरु बताउँछन् । उनीहरुले बनाएको माटोका भाँडाहरु भैरहवा, ठुटिपिपल, कोटिहवा, मणिग्राम, बुटवललगायतका विभिन्न ठाउँमा खपत हुने गरेको छ । व्यापारीहरुले तिहारअघि नै आएर अर्डर दिएका र आफुले खुद्रा बिक्री गर्न पनि माटोका भाँडाहरु बनाउने काममा दिनरात खटिनुपरेको कहाँर दम्पती बताउँछन् ।

उनले ६, ७ वर्षको उमेरदेखि नै बुवाले गर्दै गरेको काम देखेर माटोका भाँडा बनाउन सिकेका हुन् । माटाका भाँडा बनाएर आफूसहित १७ जनाको परिवारको जीविकोपार्जन गर्न भने समस्या हुने गरेको उनको दुःखेसो छ । आफूले संरक्षण गर्दै आएको बुवाबाजेको पुस्तैनी पेसाको उनलाई पुस्ता हस्तान्तरणको चिन्ता छ ।

तिहार र छठ पर्वलाई लक्षित गरी माटोको दीयो, चौमुखे दीयो, कलशलगायतका विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा उनीहरु व्यस्त छन् । भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले एक साता अगाडि नै माटोको जोहो गर्ने गर्छन् । ‘गाउँनजिकै रहेको रोहिणी नदीमा उक्त माटो सहजै पाइने हुँदा माटोका लागि भौतारिनु पर्दैन’, १८ वर्षीय विवेक गुप्ताले बताए ।

केही वर्षअघि मात्रै यी चाडपर्व र विभिन्न पूजापाठमा माटोका सामग्रीहरुको माग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यहीं प्रयोग गर्थें । फलस्वरुप उनीहरुलाई ती भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । तर अहिलेको समाज आधुनिकतामा रमाएर प्लाष्टिक र धातुका भाँडा तथा रेडिमेड बिजुली बत्तीहरु प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय चौपट हुन लागेको दुखी कोहाँर बताउँछन् ।

‘अहिलेको महंगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामाग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ’, उनले भने ।

उनका अनुसार करिब १० वर्ष पहिले माटोका भाँडा बनाएर एक परिवारलाई वर्षमा दुईदेखि तीन लाख रुपैयाँ कमाइ हुने गरेका थियो । तर अरु बेला खासै बिक्री नै हुँदैन । भैहाल्यो भने चाडपर्वको बेला ५० हजार मुस्किलले माटोका सामाग्री बेचेर आम्दानी हुन्छ । यो पेशाले मात्रै जीवन गुजारा गर्नसक्ने अवस्था छैन ।

१६,कार्तिक.२०७८,मंगलवार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्