प्रधानमन्त्री देउवा र बेलायती रक्षामन्त्रीबीच भेटवार्ता, भूतपूर्व गोर्खाका मुद्दाबारे छलफल

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) अन्तर्गतको साइडलाइनमा बेलायती रक्षामन्त्री बेन वालेससँग द्धिपक्षीय भेटवार्ता गरेका छन् । नेपाल र बेलायतबीच भूतपूर्व गोर्खा सैनिकहरुको मागको विषयमा असमझदारी बढिरहँदा देउवा र बेलायती रक्षामन्त्रीबी भेटवार्ता भएको हो ।

सम्मेलनको दोस्रो दिन मंगलबार भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरेको स्वागत समारोहमा सहभागी थिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भू-उपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गरेको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेलले जानकारी दिए ।

यससँगै प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड-१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गरेको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाले मङ्गलबार भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गरेका थिए ।

शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा देउवाले नेपालको तर्फबाट सम्बोधन गरेका थिए । सम्मेलनमा ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले आज (बुधबार) स्थानीय समयानुसार बिहान १०ः३० बजे स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा देउवाले नेपाली बगैँचामा बिरुवा पनि रोप्नेछन् ।

देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै इडिनबर्ग विमानस्थलबाट कतारको दोहाहुँदै स्वदेश फर्कने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुगेका थिए । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप २६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

१७,कार्तिक.२०७८,बुधबार १४:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्