
काठमाडौं। विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने विषय निर्वाचन आयोगमा अद्यावधिक गरेको छ।
पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएअनुसार कात्तिक ११ मा बसेको केन्द्रीय समिति बैठकले पारित गरेका विषयलाई आयोगमा अद्यावधिक गरिएका छन्।
रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो। विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो।
नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरिसकेको प्रवक्ता पाठक बताउँछन्।
उनकाअनुसार अब पार्टीको कामकारबाही अघि बढाउन कुनै कानुनी अवरोध हुने छैन।
अध्यक्ष मिश्रले फरक मत राख्नेहरूलाई केन्द्रीय समितिले गरेको निर्णय र आयोगको निर्णय सम्मान गर्न आग्रह गरेको प्रवक्ता पाठक बताउँछन्।
विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डे छन्। संयोजक पाण्डेले भने मिश्रलाई एकलौटी हिसावले केन्द्रीय समिति बैठक गर्ने अधिकार नभएको बताइरहेका छन्।
संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहबारे मिश्रले राखेको प्रस्ताव उनीपक्षका केन्द्रीय सदस्यहरूले पारित गरेका थिए भने उक्त बैठकमा पाण्डे पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन्।
पछिल्लो समय अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच विवेकशील साझा पार्टीभित्र एकअर्को प्रस्ताव ल्याउने र भिन्नभिन्न केन्द्रीय समिति बैठक बस्ने गरेको छ।
संयोजक पाण्डे पक्षको केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ता नै परिवर्तन गर्ने निर्णय गरेका थिए।
प्रतिक्रिया दिनुहोस्