
काठमाडौं । सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका ५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका १ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका ३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् ।
त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।
सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्