सर्वोच्च भोलिदेखि लयमा फर्किने, विद्रोही न्यायाधीशलाई प्रधानन्यायाधीशले दिए दुई विकल्प

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले जनताको सर्वोच्च न्यायालय लामो समय अवरुद्ध हुन नहुने भन्दै मंगलबारदेखि अदालतका सबै प्रक्रिया नियमित लयमा फर्काउने भएका छन् ।

सोमवार चार न्यायाधीश इजलासमा फर्केर बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेपछि अन्य न्यायाधीशहरूलाई पनि राणाले इजलासमा फर्किने वा आन्दोलनमा जाने दुईमध्ये एक विकल्प रोजेर आजै (सोमबार) टुंगोमा पुग्न सन्देश पठाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

‘अब भोलिदेखि सर्वोच्च अदालत नियमित लयमा फर्किन्छ । सबै मुद्दाहरू नियमित ढंगले पेसीमा चढ्छन् । अब बरिष्ठ न्यायाधीशहरू जो आन्दोलनबाट प्रधानन्यायाधीश फाल्न हिँड्नुभएको छ उहाँहरूले पनि इजलासमा फर्किने वा सडक आन्दोलनमा जाने भन्ने निर्णय मंगलबार अदालत खुल्नुअघि दिनुपर्छ भन्ने सन्देश पठाइएको छ ।’

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका चार न्यायाधीश त्यसपछि अब के गर्ने भन्ने बारेमा अन्य न्यायाधीशहरूसँग छलफलमा जुटेका छन् । सर्वोच्च स्रोतका अनुसार २० जनामध्ये बहुमत न्यायाधीश प्रधानन्यायाधीशको बहिर्गमनको बारेमा संवैधानिक वा व्यक्तिगत निकासबाहेक अरु उपाय नभएकाले न्यायिक काममा फर्किने पक्षमा उभिएका छन् ।

बाँकी न्यायाधीशका सामुन्ने इजलासमा फर्केर नियमित काम गर्ने वा राजीनामा दिएर सडक आन्दोलनमा जानेबाहेक अरु विकल्प नरहेको र अब अदालतमा यो हदको अराजकता सैह्य नहुने प्रधानन्यायाधीशनिकट स्रोतले जनाएको छ ।

बार एशोसियसनको आन्दोलनमा समेत सोमबारदेखि वकिलहरूको सहभागिता घटेको र पीपीएलए तथा डीएलएजस्ता ठूला संगठनले बार आन्दोलन केही बरिष्ठ अधिवक्ताको कुण्ठा साँध्ने माध्यम भएको भन्दै विरोध गरेपछि बहिष्कारको पक्षमा लाग्ने वकिलको संख्या न्यून हुने बारका एक पदाधिकारीले बताए ।

२२,कार्तिक.२०७८,सोमबार १६:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्