त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोमबार विमानस्थल मै पुगेर उक्त सेवाको प्रारम्भ गरेका हुन् । मन्त्री आलेको सचिवालय स्रोतका अनुसार अहिले दुई वटा बसबाट सेवा शुरु गरिएको हो ।

थप दुई वटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई मन्त्री आलेले निर्देशन दिएका छन् । यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो ।

अब यस्तो सवारी शुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारी साधन प्रयोग गर्न सक्नेछन् । साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तब्यसम्म जान सक्नेछन् ।

प्लेनको टिकटभन्दा एयरपोर्टका ट्याक्सी भाडा महंगो भएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको सचिवालयको भनाइ छ ।

मन्त्री आलेले आजै गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउन समेत भनेका छन् । यात्रुले आफ्नो ब्याग बिसाएर गाडी कुर्न उपयुक्त हुने खालको संरचना बनाउन मन्त्री आलेले प्राधिकरणलाई निर्देशन दिएका हुन् । संरचना निर्माणको काम मंगलबार बाटै शुरु हुने बताइएको छ ।

२२,कार्तिक.२०७८,सोमबार १७:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्