
काठमाडौं । प्रधानसेनापति भएपछि हुन लागेको नेपाली सेनाका महारथी प्रभुराम शर्माको पहिलो भारत भ्रमणमा उच्चस्तरीय भेटघाट हुने भएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भारतीय राजनीतिक नेतृत्वसँग पनि प्रधानसेनापतिको भेटका लागि कूटनीतिक पहल भैरहेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गराउन पहल भैरहेको तर, भेट्ने निश्चित नभैसकेको उनले बताए । दिल्लीस्थित नेपाली नियोगले भेटघाटका लागि पहल गरिरहेपनि शिष्टाचार भेटवार्ताको जवाफ आइसकेको छैन ।
‘भेटघाट गर्ने सम्भावना कायम रहन्छ’ उनले भने, ‘हामीले उच्चस्तरीय भेटवार्ताका लागि पहल गरिरहेका छौं ।’
प्रधानसेनापति शर्मालाई बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । शर्माले आजै भारतीय स्थल सेनाध्यक्ष एमएम नरवाणेसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सेनाका अनुसार भारतीय जल तथा हवाइ सेनाका प्रमुखहरुसँग पनि भेटवार्ता तय भएको छ । साथै उनले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्ने भएका छन् ।
भ्रमणमा प्रधानसेनापति शर्माले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश भारतीय समकक्षीलाई दिने भएका छन् । प्रधानसेनापति शर्माको ९ सदस्यीय भ्रमण दल कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्