बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेपछि न्यायाधीशहरु इजलासमा बसेनन्

काठमाडौं । आन्दोलनरत न्यायाधीशसँगको सहमति विपरीत सर्वोच्च अदालतलाई नियमित काममा फर्काउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास विफल भएको छ ।

आफ्नो राजीनामा मागेर आन्दोलनरत १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पेशी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गरेका थिए । यसअघि सहमति अनुसार बन्दी प्रत्यक्षीकरणको मुद्दाको मात्र पेशी तोकेका प्रधानन्यायाधीश जबराले मंगलबार भने नियमित ढंगले इजलास तोकेपछि न्यायाधीशहरु इजलासमा नबसेका हुन् ।

प्रधानन्यायाधीश जबराले मंगलबार न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिटका साथमा १२ वटा मुद्दा राखेका थिए । आफ्नो एकल र अरु न्यायाधीशको ८ वटा संयुक्त इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेशी तोकेका थिए ।

न्यायाधीश केसी र शर्माको इजलासले एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेको छ भने बाँकी मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेको छ । अरु न्यायाधीशको भने इजलास नै बसेन ।

प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा मुद्दाको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकेका छन् । उनको इजलासले एउटा मुद्दामा कारण देखाउ आदेश गरेको छ भने अर्को मुद्दा तामेलीमा राखेको छ । एउटा मुद्दा हेर्न नमिल्ने आदेश गरेको उनको इजलासमा अरु तीन मुद्दा सुनुवाइ गर्न अझै बाँकी छ ।

२३,कार्तिक.२०७८,मंगलवार १५:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्