ओखलढुंगाको मानेभन्ज्याङमा आयो सुख्खा पहिरो– बस्ती जोखिममा, दूधकोशी थुनिँदै

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका( ३ स्थित दुधकोशी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले नदी थुनिएर बस्ती नै जोखिममा परेको छ ।

उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा पहिरो जान सुरु भएको हो । दसैंमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको स्थानीयले बताए । उक्त पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।

एक साताअघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । पहिरोबाट झरेको ढुंगा-माटो सिधै दूधकोशी नदीमा खसेका कारण नदीको पानीको बहावसमेत केही मात्रामा रोकेको छ । दूधकोशी करिडोरअन्तर्गत जयरामघाट-मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको स्थानीयको भनाइ छ । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुल गाउँसम्मै आइपुग्ने गरेको स्थानीय कल्याण राईले बताए ।

स्थानीयका अनुसार पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने रिब्दोम गाउँका करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीय र केटाकेटीहरू विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् ।

पहिरोबाट झरेको ढुंगा/माटोले दूधकोशी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यस ठाउँमा पहिले पहिरो नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको स्थानीयको अनुमान छ ।

पहिरोबारे स्थानीय सरकारले बेवास्ता गरेको सरोकारवालाको गुनासो छ । स्थानीय विपद् व्यवस्थापन समितिमा यसबारे छलफलसमेत नभएको र जिल्लाको समितिले समेत पहिरोको जोखिमबारे चासो नदिएको पहिरो प्रभावितको गुनासो छ ।

मानेभन्ज्याङ-३ उँबुका अध्यक्ष मेडल राईले पहिरोबारे आफूले सुनेको बताए । उनले थपे, ‘यसबारे जानकारी आएको छ, म पुग्न सकेको छैन । फेसबुकमा आएका तस्बिर हेर्दा दूधकोशीको धार नै परिवर्तन भएको छ ।’ उनले यसबारे अध्ययन गर्ने बताए पनि पहिरो नियन्त्रणबाहिर गएको जनाए ।

२४,कार्तिक.२०७८,बुधबार ०७:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्