
दिल्ली । भारत भ्रमणको पहिलो दिन मंगलबार नेपालका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थलसेनाध्यक्ष एमएम नरवाणेबीच साउथ ब्लकमा भेटवार्ता भएको छ ।
भेटवार्तामा दुई मुलुकका सैनिकबीच रक्षा सहायतालाई बलियो तुल्याउनेबारे विचार आदानप्रदान भएको भारतीय सेनाले जनाएको छ । नेपाली सेनाले उक्त भेटलाई शिष्टाचार भेटवार्ता भएको बताएको छ ।
सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले दुई प्रधानसेनापतिबीच आपसी हित र पारस्परिक सहायताका सम्बन्धमा द्धिपक्षीय छलफल भएको बताए । भारतीय सेनाले नेपाली सेनापतिलाई ‘भारतको सुरक्षा आयाम’बारे ब्रिफिङ गरेको जनाइएको छ ।
चीन र भारतीय सेनाबीच हिमाली क्षेत्रमा पछिल्लो समय भएका झडप र तनावबारे पनि भारतीय सेनाले नेपाली सेनालाई जानकारी गराएको जनाएइएको छ । दुबै सेनाले थप सैनिक सहकार्य गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
प्रधानसेनापति शर्माले हिजै भारतीय रक्षासचिव अजय शर्मासँग पनि रक्षा मन्त्रालयमा भेटवार्ता गरेका छन् । प्रधानसेनापतिले बुधबार भारतीय सेनाका परमाधिपति तथा राष्ट्रपति रामनाथ कोविन्दबाट पनि मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्