सवारी लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघ्यो

काठमाडौं । ड्राइभिङ लाइसेन्सको परीक्षाका लागि कात्तिक ८ गते आवेदन खुल्यो, तर त्यसपछि करिब एक हप्ता प्रणाली प्रभावित भयो । तर, यही बीचमा मात्रै करिब साढे ५ लाखभन्दा बढी आवेदन परेको छ ।

पहिलो आवेदन दिएर परीक्षा कुरिरहेकासहित लाइसेन्सका लागि आवेदन दिनेको संख्या ७ लाख नाघेको यातायात व्यवस्था विभागले जनाएको छ । शुरुमा लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताए पनि विभागले सेवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्टमेन्ट’ मिति तोकिरहेको छ । पछिल्ला दिनमा आवेदन भरेकाहरु अधिकांशले करिब एक वर्षपछिको ‘एपोइन्टमेन्ट मिति’ पाइरहेका छन् ।

कतिपय कार्यालयमा सेवाग्राहीको अत्याधिक चाप देखिएको छ । काठमाडौंका लाइसेन्स कार्यालयहरुमा बढी सेवाग्राहीले आवेदन गरिररहेका छन् ।

नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । तर, अहिलेसम्म विभागले पुरानै पद्धतिबाट परीक्षा लिइरहेको छ ।

लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
नयाँ व्यवस्थाअनुसार अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

तर, लाइसेन्सको परीक्षाको मिति नै एक वर्षपछि पाउन थालेपछि परीक्षार्थीहरू निरास छन् । सवारी चालक अनुमतिपत्र तत्कालै बनाउनुपर्ने अवस्थामा चालकहरू बढी प्रताडित छन् ।

२५,कार्तिक.२०७८,बिहीबार १४:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्