रुपन्देहीको फर्निचर उद्योगमा आगलागी, तीन दमकलद्वारा नियन्त्रण प्रयास जारी

रूपन्देही । बिहीबार साँझ रुपन्देहीको तिलोत्तमामा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। तिलोत्त नगरपालिका वडा नं. १३ पथरडाँडादेखि करिब १ किलोमिटर पश्चिम मडाहामा रहेको कनौजे ट्रेडर्समा आगलागी भएको हो।

तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष गणेश न्यौपानेले सांझ साढे ५ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको बताए। बुटवलका दुईवटा र भैरहवाबाट आएको एउटा गरी तीनवटा दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको न्यौपानेले बताए।

तिलोत्तमा नगरपालिकाको आफ्नै दमकल भएपनि विग्रिएको कारण बुटवल र भैरहवाबाट बोलाईएका दमकल आउन ढिलाई हुँदा धेरै क्षति भएको उनले बताए।

बस्तीको विचमा रहेको उक्त फर्निचर उद्योगमा लागेको आगो बस्तीमा फैलिन नपाएपनि उद्योगभित्र लागेको आगो भने पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। सोफासेट, टेबुल कुर्चि, खाट लगायत काठका सम्पूर्ण फर्निचर निर्माण गरिने उक्त उद्योगमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार उद्योगभित्रका सबै सामग्री जलेर नष्ट भएपनि कतिको क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन। घटनाको विवरण आइनसकेको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

२५,कार्तिक.२०७८,बिहीबार १९:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्