वडाध्यक्षले अनियमितता गरेको भन्दै कार्यालयमा स्थानीयले लगाए ताला
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ११:११
shares

चितवन । वडाध्यक्षले आर्थिक अनियमितता गरेको भन्दै भरतपुर महानगर–१३ का स्थानीयले वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । स्थानीयले २०७५ चैतमा गरिएको राइनोकुञ्ज पर्यटन मेलाको लेखापरीक्षणसहितको खर्च–आम्दानी सार्वजनिक नगरेको आरोप लगाएका छन् ।
वडाध्यक्ष प्रकाश दवाडी माओवादी केन्द्रबाट निर्वाचित हुन् । ४ बुँदे माग राख्दै केही स्थानीयले असोज २५ गते ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्षले कात्तिक १० गतेसम्म मेलाको खर्च विवरण सार्वजनिक गर्ने वचन दिएपछि विरोधका कार्यक्रम रोकेका थिए । तर मेलामा १६ लाख खर्च र ४ लाख बचत भएको टिपोट यहीं २३ गते सार्वजनिक गरेपछि लेखापरीक्षण नगरिएको भन्दै स्थानीय आन्दोलित छन् ।
घोल क्षेत्रमा राइनोकुञ्ज खेल मैदान बनाउन ८२ ट्रिपर ग्राबेल राखेको दावी वडाले गरेको थियो । तर अन्यत्रै ग्राबेल बेचेको स्थानीयको आरोप छ । राप्रावि ब्रहम्मपुरीको ट्रष्ट निर्माणमा आर्थिक पारदर्शिता नभएको स्थानीयको बुझाइ छ । भवन निर्माणमा परेको ३२ लाख बजेट फ्रिज हुन नदिन सार्वजनिक खरिद नियमावली विपरीत काम गरेको आशंका गरेका छन् ।
उज्जल चोक–गंगानगरको करिब २ किमि सडक कालोपत्रे गर्न प्रतिमिटर १ हजार ३० रुपैयाँ स्थानीयबाट उठाएर काम सकिँदापनि वडाले खर्चविवरण सार्वजनिक गरेको छैन । स्थानीय सूर्य न्यौपानेले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत खर्च विवरण सार्वजनिक नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । २३ गते लगाएको ताला खोलेपछि फेरि बिहिबार ताला लगाइएको हो ।
उनले भने, ‘आर्थिक पारदर्शिता नदेखेपछि विरोध गरेका हौं, वडा गम्भीर नबने अन्य छानबिन गर्ने निकायसम्म पुग्नेछौं । उनका अनुसार आज दिउँसो स्थानीयहरुसँग छलफल गरेर आन्दोलन घोषणा गरिने बताए ।
स्थानीय विकास रेग्मीले राजनीतिक पूर्वाग्रही बनेर आन्दोलित नबनेको जीकिर गरे । उनले भने, ‘दलीय आस्था माथि रहेर वडालाई खबरदारी गरेका हौं, आर्थिक पारर्दशिता हुनुपर्छ ।’ खरका छानामुक्त बनाउने अभियान सहित १० जना सुकुम्बासीलाई अनुदानमा घर बनाउँदासमेत कमसल सामाग्री प्रयोग भएको उनले बताए । वडाध्यक्ष दवाडीसँग बुझ्न पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आएनन् ।

























