
चितवन । चितवनमा पछिल्लो १० महिनामा १०१ जना एचआईभी संक्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका फोकल पर्सन तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म २ हजार २५ जनामा संक्रमण देखिएको छ ।
भरतपुर अस्पतालमा ७ हजार ८ सय ३५ जनामा परीक्षण गर्दा ५२ जना र समुदायस्तरमा गरिएको १ सय ५३ जनाको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएका छन् ।
नयाँ पहिचान भएका संक्रमितलाई निःशुल्क एआरटी औषधि दिइएको छ । अस्पतालको एआरटी क्लिनिकबाट १ हजार २९ जनाले नियमित एआरटी औषधि लिएका छन् । जसमध्ये ४ सय ९५ जना पुरुष, ४ सय ९० जना महिला र ४४ जना बालबालिका छन् ।
बसौलाका अनुसार कोभिड संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ४ सय २८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको थियो । १ सय ३३ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।
एचआईभी संक्रमितले नियमित खानुपर्ने ३ प्रकारका औषधिको अभाव देखिएको छ । संक्रमित आमाबाट जन्मेका उच्च जोखिममा रहेका बालबालिकालाई ३ महिना खुवाइने जिडोभुडिन (सिरफ) औषधि ६ महिनादेखि छैन ।
एआरटी औषधि खाएको ८ हप्ता कम वा नियमित नखाएका, सुत्केरी अवस्थामा संक्रमण पहिचान भएकाबाट जन्मेका बालबालिकालाई संक्रमणबाट जोगाउन यो औषधि खुवाउने गरिन्छ ।
यो वर्ष संक्रमित आमाबाट जन्मेका १३ बालबालिकामध्ये ५ जना उच्चजोखिममा छन् । कम जोखिमका बालबालिकालाई ६ हप्ता खुवाउने नेभिरापिन औषधिको भने अभाव छैन । उच्च जोखिमका बालबालिकालाई यी दुबै औषधि खुवाउनुपर्छ । यस्तै संक्रमित व्यक्तिलाई अन्य रोगको संक्रमणबाट जोगाउन दिइने कोर्टिमोक्साजोल र क्षयरोग रोकथामका लागि खुवाइने आइपीटी औषधिको १० महिनादेखि अभाव छ ।
जसबाट करिब ३ सय संक्रमित बिरामी प्रभावित छन् ।बसौलाले भने, ‘यी औषधि सरकारले छिटै उपलब्ध गराउनुपर्छ । निःशुल्क पाइने यी औषधि तत्काल व्यवस्था हुनुपर्छ।’
सन् २०११ देखि भरतपुर अस्पतालको एआरटी क्लिनिकमा सहयोग गर्दै आइरहेको एड्स हेल्थ केयर फाउन्डेसन (ए एचएफ नेपाल)ले संक्रमितमा यौन रोग बढ्न लागेको जनाएको छ । फाउन्डेसनका क्षेत्रीय प्रमुख कृष्णहरि सापकोटाले एआरटी नियमित सेवन गर्नेमा रोगप्रतिरोधात्मक क्षमता बढेपनि लापरबाहीका कारण यौन रोगहरु देखिएको बताए ।
उनका अनुसार १ सय २ जना संक्रमितमा गरिएको परीक्षणमा ९ जनामा यौन रोग पाइएको बताए । उनले भने, ‘असुरक्षित यौनसम्पर्क गर्दा यौन रोगहरु सरेको पाइयो । अझै जनचेतना फैलाउनुपर्छ । संक्रमित १० जनामा क्षयरोगको संक्रमण पनि देखिएको छ ।
एचआईभी संक्रमितले नियमित स्वास्थपरीक्षण गराउनुपर्छ । बेलैमा अन्य रोग पहिचान भएमा जोखिमबाट बच्न सकिन्छ ।’ करिब १ सय जनाले १६ वर्षदेखि नियमित रुपमा एआरटी औषधि खाँदै आएका छन् ।
भरतपुर अस्पतालले एचआईभी संक्रमितको निःशुल्क पाठेघर मुखको क्यान्सर परीक्षण सुरु गरेको छ । गत महिनादेखि सुरु भएको परीक्षणमा हालसम्म ९ जना महिलाले परीक्षण गरेका छन् । डा. बसौलाका अनुसार २१ वर्ष माथिका संक्रमित महिलाले स्क्रनिङ गर्न पाउनेछन् । वर्षमा कम्तिमा एकपटक संक्रमित महिलाले निःशुल्क स्क्रिनिङ गर्न पाउने बताए ।
सरकारले एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ बिमाको नीति ल्याएपनि संक्रमितहरु बिमामा आकर्षित हुन सकेका छैनन् । भरतपुर अस्पतालका प्रमुख मेसु डा. कृष्णप्रसाद पौडेलले संक्रमितको बिमा अभियान चलाउनुपर्ने बताए ।
उनले भने, ‘सरकारले निःशुल्क बिमाको सुविधा दिएको छ, तर उहाँहरु बिमा गर्न मान्नुहुन्न । अन्य रोगको उपचारको खर्च अस्पतालले बेहोर्नुपरेको छ, अब बिमा अभियान चलाउनुपर्छ ।’ ६ सय ५० जनाले संक्रमितले बिमा गरेपनि नयाँ थपिएका संक्रमितले बिमा गर्न इच्छुक देखिएका छैनन् । स्वास्थ कार्यालय चितवनका प्रमुख दिपक तिवारीले एचआईभी संक्रमितको बिमालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्