नेपाली कांग्रेस सभापति आकांक्षीहरुलाई पौडेलले भने, ‘तीन तहको चुनावपछि राजनितिबाट विदा लिन्छु’
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १८:५६
shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म सभापति बन्ने प्रस्ताव अघि सारेका छन् ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ, तर पौडेल समूहले साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला दावेदार छन् ।
चार आकांक्षीबीच सहमति जुट्न सम्भावना गर्दै गएपछि वरिष्ठ नेता पौडेलले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर नयाँ प्रस्ताव अघि सारेका छन् ।
‘कि तपाईहरु नेतृत्वका विषयमा सहमति गर्नूस्, नत्र म सबैलाई संयोजन गर्न सक्छु, मलाई नेतृत्वमा सबैले अगाडि सार्नुस्,’ पौडेलले बैठकमा भने, ‘म पुरा कार्यकाल सभापति बन्दिन । तीन तहको निर्वाचनमा पार्टीलाई जिताएर विदा हुन्छु । त्यसपछि तपाईँहरुलाई नै छोड्छु ।’























