अदालतमा दोहोरो खिचातानी: प्रधानन्यायाधिशका विरोधि भित्र धर्नामा, समर्थकहरुको बाहिर नाराबाजी

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् ।

सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न जबरालाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्न आग्रह पनि गरे । उनले भने, ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।’

दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएका छन् । गत शुक्रबार अदालतको बाहिरबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरु आज भने अदालत भित्रैपट्टीबाट मूल गेटमा धर्नामा छन् । आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबराका समर्थकहरुले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । तर प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरू उनले तोकेको इजलासमा पनि बसेका छैनन्  ।

२८,कार्तिक.२०७८,आईतवार १०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्