कांग्रेसमा विधान संशोधनको तयारी, पदाधिकारी संख्या बढाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनका लागि ४ साता बाँकी रहँदा विधान संशोधन गरी पदाधिकारी संख्या बढाउने तयारी भएको छ।

१४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी धेरै भएपछि सभापतिमा दाबी गरिरहेका शीर्ष नेताहरू आन्तरिक व्यवस्थापनको चटारोमा छन् । आकांक्षी व्यवस्थापनका लागि पदाधिकारी संख्या थप गर्न विधान संशोधन गर्नेबारे शीर्ष तहमा गहन छलफल भएको छ ।

त्यसमा अधिकांश नेताहरू सकारात्मक देखिएका छन् । शनिबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकमा पनि विधान संशोधनको विषयले प्रवेश पाएको थियो । कांग्रेसले हरेक महाधिवेशन र महासमिति बैठकमा विधानलाई परिमार्जन गर्दै आएको सन्दर्भमा आगामी महाधिवेशनमा पनि विधान संशोधनका लागि समिति बनाउन शीर्ष नेताहरू तयार देखिएका छन् । यसको आधिकारिक प्रस्ताव भने आज बस्ने केन्द्रीय समिति बैठकमा पेस हुने बताइन्छ ।

२ जना सहमहामन्त्री थपिने
कांग्रेसमा हाल ८ जना सहमहामन्त्रीको व्यवस्था रहेको छ । कांग्रेस विधानको परिच्छेद ७ को दफा २१ को ३ मा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलित महाधिवेशन प्रतिनिधिमध्येबाट एक, मधेशी महाधिवेशन प्रतिनिधिमध्येबाट एक, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट एक, थारु महाधिवेशन प्रतिनिधिमध्येबाट एक, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट एक र पिछडिएको क्षेत्रका महाधिवेशन प्रतिनिधिमध्येबाट एक समेत निर्वाचित गरेका सहमहामन्त्री आठ जना हुने व्यवस्था गरेको छ ।

कांग्रेसमा सहमहामन्त्रीतर्फ समावेशी सिटहरु मात्रै भएकोले खुल्ला प्रतिस्पर्धीका लागि पनि २ सिट उपलब्ध गराउन शीर्ष नेताहरूलाई दवाव बढेको छ । ‘सबै टिममा पदाधिकारीका आकांक्षी धेरै छन् । सहमहामन्त्रीमा समावेशीमात्रै भयो खुल्ला पद भएन । त्यसैले खुल्ला सहमहामन्त्रीमा २ जना निर्वाचित गर्नुपर्छ भन्नेमा सिरियस छलफल भएको छ’, कांग्रेसका एक नेताले नेपाल प्रेससँग भने । ती नेताका अनुसार सर्वपक्षीय सहमतिमा बन्ने विधान संशोधन समितिमार्फत पदाधिकारी थप गर्नेगरी विधान संशोधन प्रस्ताव महाधिवेशनमा पेस गर्न नेताहरू सकारात्मक छन् ।

महिला उपसभापति पनि थप गरिने संकेत
कांग्रेसमा अहिले २ जना उपसभापतिको व्यवस्था छ । दुवै उपसभापति खुल्ला प्रतिस्पर्धाबाट चुनिनेछन् । कांग्रेसभित्र महिला उपसभापतिको व्यवस्था गर्ने विषयमा छलफल भएको छ । राज्यका प्रमुख निकायहरुमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरिएको सन्दर्भमा कांग्रेसमा पनि दोस्रो पदमा महिला प्रतिनिधित्व हुनुपर्ने आवाज पहिले पनि उठेको थियो । महाधिवेशनमा टिम व्यवस्थापनमा चुनौती खेपिरहेका नेताहरूको बैठकमा महिला उपसभापति थप गर्ने प्रस्ताव पनि पुगेको छ ।

‘पार्टीमा योगदान गरेका महिला नेतृहरु मूल नेतृत्वमै पुग्न अझ धेरै संघर्ष गर्नुपर्ने देखिन्छ । उपसभापतिमा महिला नेतृत्व स्थापित गरेर कांग्रेसले सकरात्मक सन्देश दिनुपर्छ । त्यसका लागि हामीले सबै नेताहरुलाई दबाब दिएका छौं’, एक महिला नेताले नेपाल प्रेससँग भनिन् ।

कांग्रेस शीर्ष नेतृत्वमा सबै पदाधिकारीका निर्वाचित हुँदा नयाँ सभापतिलाई असहज हुनसक्ने भन्दै केही पदाधिकारी मनोनीत गर्ने प्रावधान राख्नुपर्ने लबिङ पनि संस्थापन र इतर दुवै पक्षमा भइरहेको छ ।

२८,कार्तिक.२०७८,आईतवार ११:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्