माधव नेपालको दाबी, नेकपा एसको नाम सुन्नासाथ धेरैको होसहवास गुम्न थाल्यो

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको नाम सुन्दा धेरैकाे हाेसहवास गुम्न थालेकाे बताएका छन । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले नेकपा एसको नाम सुन्ने वित्तिकै नेताहरुको होसहवास गुम भइरहेको बताएका हुन् ।

कतिपय मान्छे र पार्टीले नेकपा एस भनेर नाम समेत सुन्न नचाहेकाे उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय सभाको चुनावमा सँगसँगै उम्मेदवार बनाएर सबै ठाउँमा जितेर देखाइदिन्छौँ, उपनिर्वाचनमा पनि जितेर देखाउँछौँ, कतिपय मान्छे, पार्टीको सातो गैसकेको छ, नेताहरुको होसहवास गुम भैसकेको छ, यो सबै गर्ने नेकपा एस भनेर नाम सुन्न चाहदैनन्, नाम सुन्दा थरथर काम्न थाल्छन् ।’

उनले एकीकृत समाजवादीमा नेता—कार्यकर्ताको आकर्षण बढेको पनि दावी गरेका छन् । नेकपा एमाले इतिहासको विषय बनेको उल्लेख गर्दै नेता नेपालले भने, ‘एमाले कसको गर्भबाट जन्मियो पत्ता लगाउनुस् ! बीचमा हराइसकेको थियो, फेरि कस्को सम्बन्धले जन्मेको हो पल्टाए हुन्छ, अब इतिहासको बिषय बन्छ ।’

यस्तै अध्यक्ष नेपालले सर्वोच्च अदालतको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रसरता लिनुपर्ने बताएका छन् । न्यायालयको विवाद समाधानका विष्वायमा गठबन्धनमा छलफल पनि उनले बताएका छन् ।

उनले भने, ‘५ दलको बैठकमा छलफल भएको छ । त्यो समस्यालाई त्यहि बसेर राम्रो ढंगले समाधान होस भनेका छौं, प्रधानमन्त्रीले पनि अग्रसरता दिएर राज्यका सम्बन्धित निकायसँग परामर्श गरेर समाधानको उपाय निकाल्नुपर्छ ।’

३,मंसिर.२०७८,शुक्रबार १४:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्