अर्थमन्त्री शर्माले व्यक्ति नहेरी सत्यको पक्षमा मात्रै कलम चलाउन पत्रकारहरुसँग गरे आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यक्ति नहेरी सत्यको पक्षमा मात्रै कलम चलाउन पत्रकारहरुसँग आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल, एसोसिएट प्रदेश समितिको अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले कुनै व्यक्ति वा पार्टी भन्दा पनि पत्रकारहरुले सत्यको पक्षमा कलम चलाउनु पर्ने बताएका हुन् ।

भ्रष्टाचार र अनियमितताको विरुद्धमा कर्मचारी तन्त्र वा राजनीतिक दलमात्रै लागेर नपुग्ने भन्दै उनले यसका लागि आम सञ्चारकर्मी र नागरिक अगुवाहरुको पनि भूमिका उत्तिकै रहने बताए ।

उनले भने, ‘सत्य के हो ? त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियोभने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आईपुग्छन, त्यतातिर नहेर्नुस् ।’

व्यक्तिको कुरा भन्दा पनि सत्य कुरा स्थापित गर्न लाग्यो भने त्यो जनताप्रति र राष्ट्रप्रति न्याय हुने उनले बताए । अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

४,मंसिर.२०७८,शनिबार १५:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्