सर्वाेच्चमा निरर्थक निहुँको अवसान : प्रधानन्यायाधिश चोलेन्द्र शमशेरजबराकै नेतृत्वमा इजलासमा फर्किए सबै न्यायाधीश
वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५५
shares

काठमाडौं । सर्वाेच्च अदालतमा अस्वाभाविक रूपमा केही न्यायाधीशहरूले खोजेको निरर्थक निहुँको अवसान भएको छ ।
न्यायालयको कार्यप्रणाली सुधारका लागि छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कात्तिक ८ गते फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरू बैठक बहिष्कार गर्दै आन्दोलनकारी बनेका थिए । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै थालिएको त्यो निरर्थक निहुँ सहितको आन्दोलनको अवसान भएको छ ।
न्यायालय सुधारका लागि थुप्रै छलफल, अध्ययन प्रतिवेदन र कार्ययोजना निर्माण हुने गरेको सन्दर्भमा गोला तान्ने प्रक्रियाबाट पेशी तोक्ने प्रणालीबारे छलफल गर्न प्रधानन्यायाधीश जबराले कात्तिक ८ गतेकै फुलकोर्ट बैठकमा छलफल र निर्णय गर्ने तयारी गरेका थिए । जसमा नेपाल बार एशोसिएशनले समेत चासो राखेको थियो ।
बारकै सुझावअनुसार प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएका थिए तर अप्रत्यासित रूपमा सर्वाेच्चका न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गरे । त्यतिबेला न्यायालय सुधारको एजेन्डा ओझेलमा पारियो र जबराको राजीनामाको विषयलाई उचालियो । अन्ततः राजीनामाको निरर्थक निहुँ अवसान भएर सर्वाेच्चका सबै न्यायाधीशहरू प्रन्या जबराकै नेतृत्वमा इजलासमा फर्किएका छन् ।
कात्तिक ८ गतेकै फुलकोर्टमा सबै न्यायाधीश सहभागी भएका भए उतिबेलै न्यायालय सुधारका एजेन्डा लागू गराउन सकिने अवस्था थियो । तर राजीनामाको निहुँ घुसाएर केही हप्ता सर्वाेच्च अदालतको आस्थालाई धुमिल बनाउने काम गरियो । अन्ततः न्यायाधीशहरू प्रधानन्यायाधिश चोलेन्द्र शमशेरको राजीनामा विनै इजलासमा फर्किनुपर्ने अवस्था आएको छ ।
आज आईतबार प्रन्या जबराले आफू बाहेकका ११ वटा इजलास तोकेका छन् । प्रन्या जबराले दीपककुमार कार्कीको मात्र एकल इजलास तोकिएको छ भने अन्य न्यायाधीशको संयुक्त इजलास तोकेका छन् ।
न्यायाधीश मीरा खड्का र प्रकाशकुमार ढुंगानाका २ वटा छुट्टाछुट्टै संयुक्त इजलास तोकिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ ।
न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको समेत छुट्टाछुट्टै २ वटा संयुक्त इजलास तोकिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलास, अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलास, प्रकाशमान सिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त इजलास, बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलास, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ ।
आज सबै प्रकृतिका मुद्दामा पेशी तोकिएको छ । बिहीवार बसेको फुटकोर्ट बैठकले गोला प्रणालीबाट पेशी तोक्ने प्रावधान राखेर नियमावली संशोधन गरेको छ ।























