महासचिव वा त्योभन्दा माथिको पद डिजर्भ गर्छुः सुरेन्द्र पाण्डे

काठमाडौं । एमाले नेता सुरेन्द्र पाण्डेले पार्टीको आगामी महाधिवेसनमार्फत पार्टीको नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा जोड दिएका छन् । नयाँ नेतृत्वमा आफू महासचिव वा त्योभन्दा माथिको पदको आकांक्षी रहेको उनले स्पष्ट पारे ।

एमालेले महाधिवेसनका सन्दर्भमा गरेको भिडियो अन्तरवार्तामा पाण्डेले पार्टीको विशेष अवस्थाका कारण मतदानभन्दा सर्वसम्मतिमा जोड दिइएको बताए ।

उनले भने, ‘अहिले एमाले विशेष अवस्थाबाट गुज्रिरहेको छ । नेकपाको एकता जोगिन सकेन । त्यसपछि एमालेबाट पनि केही हिस्सा बाहिरियो । सरकारबाट हामी हट्नुपरेको छ । एमालेलाई कजोर तुल्याउन र एमालेका एकता विथोल्ने गरी भित्री–बाहिरी चलखेल भइरहेको छ । त्यसैले यस्तो परिस्थितिमा सकेसम्म सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन गरौं भन्ने हो । यद्यपि, यसको अर्थ लोकतान्त्रिक अभ्यासलाई खुम्च्याउन खोजिएको होइन ।’

सकेसम्म तलैसम्म नभए पदाधिकारी तहमा भए पनि सर्वसम्मति गर्नुपर्ने पाण्डेको भनाइ छ ।

‘केन्द्रीय समितिमा चुनाव हुँदा धेरै फरक पर्दैन । सकिन्छ सबै सर्वसम्मत गरौं । होइन भने पनि पदाधिकारीसम्म सर्वसम्मत हुँदा एकताको सन्देश प्रवाह हुन सक्छ । नेतृत्व विभाजित छैन भन्ने सन्देश जान्छ,’ उनले भने ।

यद्यपि, आकांक्षीहरुको ठूलो सख्या देख्दा सर्वसम्मति हुन गाह्रो पर्ने हो कि भन्ने आफूलाई लागेको पाण्डेले बताए ।

आगामी महाधिवेसनमा आफूले महाचिवभन्दा तलको आकांक्षा नराखेको उनको भनाइ छ ।

पाण्डेले भने, ‘अघिल्लो महाधिवेसनमा टेक्निकल गेममा महासचिव हारेँ । तर म त्यो पद डिजर्भ गर्छु । यसपाली महासचिवभन्दा तल उठ्ने कुरा हुँदैन । महासचिव वा त्योभन्दा माथिको जिम्मेवारी चाहिँ पार्टीभित्रको आवश्यकता र समयले तय गर्ने छ ।’

चितवन महाधिवेसनमार्फत एमाले बलियो र एकतावद्ध भएर आगामी चुनावमा भाग लिने पाण्डेले बताए ।

उनले भने, ‘एमालेको कुनै विकल्प छैन र आगामी चुनावमा एक्लै विजय प्राप्त गर्ने तयारीका साथ एमाले जान्छ भन्ने चितवनबाट उद्घोष गरिने छ ।’

६,मंसिर.२०७८,सोमबार १७:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्