महाधिवेशन प्रतिनिधि छनाेटले युवा संघमा विवाद, मान्यता नदिन पार्टीमा उजुरी

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनाेटमा युवा संघ अध्यक्ष किरण पौडेल लगायत नेताले मनोमानी गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

युवा संघका उपाध्यक्ष अमित लामा,उपाध्यक्ष उर्मिला सुुनुवार, रोशन बस्नेत,किरणराज गौतम, कृष्णहरी केसी लगायतका नेताले विधि प्रक्रियाविपरित महाधिवेशन प्रतिनिधि भनेर सार्वजनिक गरिएका नामप्रति असहमति जनाएका छन् । बरिष्ठ उपाध्यक्ष लामाले कमिटी बैठक बसेर निर्णय नभएकोले आफूहरु असहमत रहेको बताए ।

उनीहरुले संघको बैठक बसेर सहमतिमा वा निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि चयन हुनुपर्ने माग गरेका छन् । यसबारेमा पार्टीको सम्बद्ध निकायमा लिखित उजुरी दिइने र युवा संघको नाममा चयन भएका भनिएका प्रतिनिधिलाई मान्यता नदिन आग्रह गरिने उपाध्यक्ष बस्नेतले बताए ।

युवा संघबाट अध्यक्ष पौडेलसहित क्रान्ति बुर्लाकोटी, पुष्प श्रेष्ठ, रमेश आचार्य र अन्जना अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । तर ती नाममा कुनै बैठकमा छलफल नभएको र प्रक्रिया नै शुरु नभएको आरोप अर्को पक्षको छ ।

बस्नेतले युवा संघलाई केही नेताले प्राइभेट कम्पनीका रुपमा चलाउन खोज्दा समस्या भएको बताए । कुनै पनि कमिटीमा छलफल नहुने र निजी ढंगले संगठन चलाउने प्रवृतिविरुद्ध आफूहरु उजुरी दिनेबारे छलफलमा रहेको बताए ।

यसैबीच युवा संघका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अशोक चौलागाईले भने प्रतिनिधि छनौटमा कुनै विवाद नभएको र सहमतिका आधारमा प्रक्रिया पूरा गरेरै पार्टीले तोकेको मापदण्ड अनुसार प्रतिनिधि चयन भएको बताए । उनले प्रतिनिधि चयनमा संगठनभित्र कुनै विवाद नरहेको दावी गरे ।

युवा संघमा क्रान्ति बुर्लाकोटी १० बुँदे सहमति पक्षधर १० नेता निकट हुन् । अरु सबै संस्थापन पक्षकै हुन् । अध्यक्ष पौडेल र उपाध्यक्ष बस्नेत युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री हुँदा स्वकीय सचिव थिए ।

युवा संघ अहिले पनि महेश बस्नेतको प्रभावमा छ । संघका इन्चार्ज समेत रहेका बस्नेत एमालेको सचिवका उम्मेदवार बन्ने भएका छन् । युवा संघभित्रको विवाद मिलाउन बस्नेतलाई नै जिम्मा दिने कि पार्टीले हस्तक्षेप गर्ने भन्नेबारे नेतृत्वमा छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले बताए ।

युवा संघको कमिटीमै नरहेको व्यक्तिलाई प्रतिनिधि छनौट गरिएको आरोप समेत लागेको छ । बुर्लाकोटी नेकपा एस निकट युवा संघको बरिष्ठ उपाध्यक्ष रहेको र संघमा फर्किएर जिम्मेवारी पाएको जानकारी समेत अहिलेसम्म नरहेको अशन्तुष्ट पक्षको दावी छ ।

७,मंसिर.२०७८,मंगलवार १०:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्