प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

रूपन्देही । नेपाली कांग्रेस प्यूठानको सभापतिमा पौडेल/सिटौला समूहका बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन् ।

सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त गरेका थिए । ९ मत बदर भए। रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।

२०५५ सालमा नेविसंघबाट राजनीति सुरु गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका सालिन र प्रभावशाली नेताका रुपमा लिने उनका प्रशंसकहरू बताउँछन् ।

नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने, गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिबेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिबमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका थिए ।

सभापतिको मतगणना चलिरहेको बेला मंगलबार राती संस्थापन समूहका केही कार्यकर्ताले गणनास्थलमा आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास तथा गोली नै चलाउनुपरेको थियो । सो घटनामा दुई प्रहरीसहित ९ जना घाइते भएका छन् । तीन घाइतेलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि अन्य सुविधासम्पन्न अस्पताल पठाइएको छ ।

८,मंसिर.२०७८,बुधबार १०:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्