सुरेन्द्र पाण्डेले भने, ‘मेरो चाहना महासचिव वा त्यो भन्दा माथि हो’

चितवन । एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव पदमा आफ्नो दावी रहेको संकेत गरेका छन् ।

१० औं महाधिवेशनका लागि चितवन पुगेका नेता पाण्डेले विगतमा पनि आफू महासचिवको उम्मेदवार रहेको उल्लेख गर्दै अब महासचिव वा त्यो भन्दा माथि जाने आफ्नो चाहाना रहेको बताएका हुन् ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पाण्डेले महासचिव वा त्यो भन्दा माथी जाने तर त्यो भन्दा तल जान्न भने ।

अहिलेसम्म औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेका पाण्डेले कुन पदमा आफूले उम्मेदवारी दिने भन्ने चितवनमा नै टुंग्याउने बताए । उनले भने, ‘यहि पद भनेको छैन । सहमतिमा टुंगो लाग्छ । म हिजो के मा थिए सबैलाई थाहा छ त्यहि अनुसार हुन्छ ।’

नवौं महाधिवेशनमा पाण्डे ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए ।

पाण्डले १० औं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने पनि बताए । एमालेलाई सुदृढ बनाउन सर्वसम्मत नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पाण्डेले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याएर देश चलाउनुपर्ने भएकाले नेतृत्व सर्वसम्मत हुनुपर्ने बताए ।

१५ जना पदाधिकारीमा धेरै आकाक्षी रहेको स्वीकार गर्दै उनले अधिवेशनबाट केही पद सिर्जना गर्न सक्ने संकेत पनि गरे ।

९,मंसिर.२०७८,बिहीबार १२:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्