नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै : यस्तो छ चितवनको चहलपहल

नेपाली जनता

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौरहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छ ।

बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताहरुको चहल पहल छ । अहिले विभिन्न स्थानबाट जुलुश निकाल्ने तयारी छ । बिभिन्न सात स्थानबाट निस्किने जुलुस नारायणी नदी किनारमा पुगेर उदघाटन समारोहमा परिणत हुने छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस गेट, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोकबाट जुलुस निकालिने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । उनले मूल रुपमा केन्द्रीय बसपार्क, आँपटारी र गैंडाकोटबाट विशाल जुलुस निस्कने बताइन् । झण्डा, पार्टीको ब्यानरसहित नेता कार्यकर्ताहरु नारायणी नदी किनार पुग्ने उनको भनाइ छ ।

अहिले बिभिन्न जिल्लाबाट आएका नेता–कार्यकर्ताहरु नारायणी नदी किनारमा पुग्ने क्रम जारी छ । रातभर गाडीमा यात्रा गरेका कार्यकर्ताहरु पार्टीको झण्डा, चुनाव चिह्न र अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित ब्यानर बोकेर हिंडिरहेका देखिन्छ । जुलुस सुरु हुनुअघि फुर्सदमा देखिएका एमाले कार्यकर्ताहरु नारायणी नदी किनारमा फोटो खिच्न र घुमघाम गर्न व्यस्त देखिन्छन् ।

भारतीय नम्बर प्लेटका गाडी र स्कुलका बस समेत रिजर्भ गरेर एमालेले मानिसहरुलाई चितवनमा ओसारेको छ । ती कार्यकर्ताहरुको चहलपहलले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि १५ सय बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

पश्चिम नेपालबाट आउने सवारी साधनलाई गैंडाकोटको भृकृटी कागज कारखाना अगाडि नै रोकेर त्यहीँ नै पार्किङको व्यवस्था मिलाइएको छ । यस्तै पूर्वी नेपालका विभिन्न जिल्लाबाट महाधिवेशनका लागि सहभागी लिएर आउने गाडीहरुलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा झारेर बसहरु सबैलाई टिकौली जंगलको पूर्व रहेको चौरमा पार्किङमा राख्ने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस  कोरोना संक्रमण देखिएपछि २७ जनालाई पीसीआर परीक्षणविनै डिस्चार्ज, नेपाली कांग्रेसले गारो विरोध

माडी ठोरी तथा पश्चिम चितवनबाट आउने सवारीलाई केन्द्रीय बसपार्कमा नै सहभागीहरुलाई छाडेर बसपार्क वा अन्य पश्चिम चितवनका विभिन्न ठाउँमा पार्किङ गर्न लगाइने चितवन प्रहरीले जनाएको छ ।

राजधानी काठमाडौं, पोखरा लगायतका ठाउँ र जिल्लाबाट आउने बस तथा अन्य सवारी साधनलाई आँपटारी, रामनगर, देवघाट जाने सडक लगायतका क्षेत्रमा रोकिनेछन् । त्यहीँ नै कार्यक्रममा आउने सहभागीहरुलाई झारेर नेपाल ट्रष्टको खुल्ला चौरमा पार्किङ गरिने छ ।

मालवाहक सवारी साधान र ठूला यात्रुबाहक सवारीलाई विहान १० बजेदेखि ५ बजेसम्म विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत सो समयमा चितवन प्रवेश नगरिदिन अनुरोध गरिएको छ ।

१०,मंसिर.२०७८,शुक्रबार १०:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: