एमाले महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल गएनन, पोखरेललाई पठाए

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरे पनि उनी गएनन् । दाहाल शुक्रबार बिहानै काभ्रेतिर लागेका छन् ।

दाहालले एमाले महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रको प्रतिनिधित्व गर्न स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई पठाएका छन् । ‘महाभारत र खानीखोला गाउँपालिकामा पार्टीकै कार्यक्रम छ । उहाँ त्यहाँ हुने कार्यक्रमहरूमा सहभागी बन्नुहुन्छ,’ दाहालका स्वकीय सचिव रमेश मल्लले इकान्तिपुरसँग भने, ‘एमाले महाधिवेशनमा सहभागी हुन पार्टीले लीलामणि पोखरेललाई पठाएको छ ।’

राजनीतिक दलहरूले महाधिवेशनको उद्घाटन सत्रमा अन्य राजनीतिक दलहरूलाई पनि बोलाएर आतिथ्यता गराउने परम्पराबमोजिम एमालेले नेकपा एकीकृत समाजवादीबाहेकका दलहरूलाई निमन्त्रणा गरेको छ । महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले पनि सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।

त्यस्तै एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् । बीजेपीका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री डा. हर्षबर्द्धन र राष्ट्रिय सचिव हरिश द्विवेदी बिहीबार नै काठमाडौं आइपुगेका थिए । त्यस्तै, भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा मार्क्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा मार्क्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आउने नेता भट्टराईले बताए । त्यस्तै, श्रीलंकाबाट जनता भिमुक्ति पेरामुना पार्टी (जेभीपी) का भिजेथा हेराथ सहभागी हुनेछन् ।

१०,मंसिर.२०७८,शुक्रबार १२:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्