नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा ७ स्थानबाट एमालेको जुलुस, उदघाटनस्थलमा भेला हुने क्रम जारी

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ । बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत हुने क्रम जारी छ ।

पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क)बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ ।

आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोक लगायत स्थानबाट जुलुस निस्किएका छन् । ठूला जुलुस भने भरतपुर बसपार्क, आँपटारी र गैंडाकोटबाट निकालिएको एमाले चितवन अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

ती जुलुसहरु महाधिवेशन उदघाटनस्थल नारायणी नदी किनारमा जम्मा हुने क्रम जारी छ । जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरेका छन् ।

जुलुसका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प छ । मानिसहरुको भिडले नारायणी पुलमा एम्बुलेन्ससमेत केहीबेर जाममा परेको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई साँझ ५ बजेसम्मै प्रवेशमा रोक लगाइएको छ ।

१०,मंसिर.२०७८,शुक्रबार १३:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्