प्रधानमन्त्रीसँग छलफल गर्दै पर्यटनमन्त्री आले, सीसीएमसीसी बैठक बस्दै

काठमाडौं । नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोन संक्रमण पुष्टि भएसँगै नेपालले पनि रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको छ ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ संक्रामक भेरिएन्ट र सुरक्षित हवाइ उडानबारे छलफल गर्ने भएका छन् ।

‘धेरै देशहरुले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएको स्थिती छ । यो परिस्थितीमा हामी कसरी अघि बढ्ने भन्नेबारे प्रधानमन्त्रीज्यूसँग छलफल गर्नेछु’ मन्त्री आलेले पत्रकारहरु सँग भने ।

दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको अत्यन्तै संक्रामक मानिएको ओमाइक्रोन भेरिएन्टलाई डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । दक्षिण अफ्रिकासँग नेपालको सीधा उडान नभएपनि हङकङजस्ता सीधा उडान भएका मुलुकमा संक्रमण पुष्टि भएपछि नेपाल सतर्क बनेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले हङकङमा यो भेरिएन्टका दुईजना संक्रमित भेटिएकाले संक्रमित संख्यामा वृद्धि भए हङकङसँगको उडान रोक्ने तयारी भैरहेको बताए ।

पौडेलका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण र आइसोलेसनमा कडाइ गरिने भएको छ भने सीमा नाकामा समेत कडाइ गरिने भएको छ । त्यहाँ हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको समेत उनले बताए ।

नयाँ भेरिएन्ट फैलिएको परिस्थितीबारे छलफल गर्न आइतबार दिउँसो कोभिड–१९ संकट व्यवस्थापन समन्वय कमिटी (सीसीएमसीसी)को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेश्वर न्यौपानको नेतृत्वमा समितिको बैठक बस्न लागेको हो ।

११,मंसिर.२०७८,शनिबार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्