कांग्रेस महाधिवेशन : पश्चिमनवलपरासीमा सभापतिसहित संस्थापनइतरको प्यानलै विजयी

रूपन्देही । नेपाली कांग्रेस पश्चिमनवलपरासीको सम्पन्न जिल्ला अधिवेशनबाट देउवाइतरका सभापतिसहितको प्यानल विजयी भएको छ ।

महाधिवेशन प्रतिनिधिमा समेत पौडेपक्षले बहुमत प्रतिनिधि जितेको छ । कुल ५३ जना प्रतिनिधिमा २९ जना इतर गुट र २४ जना देउवा गुटका छन् ।

शनिबार सम्पन्न मतगणनाअनुसार देउवा गुटका सभापति उमेदवार मोहनप्रसाद शर्मालाई इतरगुटका उम्मेदवार अर्जुनकुमार पोखरेलले १ सय ९५ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी पोखरेलले ७५६ मत ल्याए भने प्रतिस्पर्धी शर्माले ५६१ मत ल्याए । निर्वाचित पोखरेल यसअघिका जिल्ला उपसभापति हुन् ।

कांग्रेसको पदाधिकारीमा २/२ जना उपसभापति, सचिव र सहसचिव रहने प्रावधान छ । जसअनुसार उपसभापतिमा विक्रमप्रसाद यादव र अनिल गौड विजयी भएका छन् । सचिवमा कुलदीपप्रसाद आचार्य र उमेशचन्द्र यादव विजयी भएका छन् । सहसचिवमा दीपक बराल र सन्तबहादुर गाहा निर्वाचित भएका छन् । ३६ सदस्यीय जिल्ला कार्यसमितिको निर्वाचनमा कुल १३ सय २९ मत खसेको मतदान अधिकृत दीपक भट्टराईले जानकारी दिए ।

जिल्लाका नेताहरूबीचको आन्तरिक राजनीतिक झगडाका कारण सहमति नभएपछि वडा अधिवेशनबाटै निर्वाचन हुँदै आएको हो ।

जिल्लामा देउवा गुटमा रहेका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्धय विक्रम खनाल र देवकरण जयसवालको संयुक्त गुट छ । केन्द्रमा देउवाइतरका नेताहरू नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन् । दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ ।

एक अर्काको राजनीतिक अस्तित्व स्वीकार गर्न नसक्ने जिल्लाका नेताहरुको अडानका कारण तल्लो तहबाटै निर्वाचन भएको कार्यकर्ताहरुले बताएका छन् ।

११,मंसिर.२०७८,शनिबार १४:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्