
रुपन्देही । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्नका लागि केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको रकम सदुपयोग गरेर निर्धारित समयमै पूरा गर्न आग्रह गरेका छन् ।
बिहीबार लुम्बिनी विश्वविद्यालयको १७ औं वार्षिकोत्सवका अवसरमा उनले पूर्ववर्ती सरकारले ४० वर्षसम्म पूरा हुन नसकेको गुरुयोजना तीन वर्षभित्र पूरा गर्नेगरी रकम विनियोजन गरिएपनि कार्यान्वयनमा ढिलाई भएकोे बताए ।
‘पूर्ववर्ती सरकारले ३ वर्षभित्र गुरुयोजनाका बाँकी काम पूरा गर्न ७ अर्ब ३३ करोड छुट्टाएको थियो, यसको सही सदुपयोग गरेर समयमै पूरा गर्न ढिलाई भएको कुरा बाहिर आएको छ, यसले कसैलाई हित गर्नेछैन यस्तो नहोस्, संसारका महत्वपूर्ण योजनामध्ये जापानिज वास्तुकलाविद् केन्जो टाँगेले बनाएको योजनाले विशेष अर्थ राखेको छ’, उनले भने ।
पौडेलले संसारमा कसैले बुद्धजन्मस्थल बनाउन नसक्ने भएकाले यसलाई विशेष धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए । उनले बुद्धिजम पढ्ने संसारका विद्यार्थीहरुलाई यहाँ अध्ययनका लागि आकर्षण गर्न सकिने बताए ।
पूर्वमन्त्री पौडेलले गुरुयोजनामै समेटेर बुद्धजन्मस्थलसँगै तिलौराकोट दरबार त्यो वरिपरीको क्षेत्र, उत्खनन् हुन नसकेको बुद्धको अस्तु राखिएको रामग्राम, बुद्धको मावली देवदहलाई जोडेर विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने र त्यसका लागि लुब्मिनी विकास कोषले विशेष चासो दिनुपर्ने बताए ।
उनले पूर्ववर्ती सरकारले विश्वविद्यालयको लागि छुट्टाएको ९२ विगाह जग्गा व्यवस्थापन, विश्वविद्यालयले शुरु गरेका अध्यापनका विषयले विश्वद्यालयको उचाई बढेको बताए ।
नेता पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर शुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको ढिलाईप्रति सरकारलाई खबरदारी गरेका छन् ।
‘प्रधानमन्त्री केपी ओलीले विशेष चासो राखेर शुरुवात गराएको विमानस्थलमा किन ढिलाई भएको छ ? सबै पत्रकारलाई म खोज्न आग्रह गर्दछु, लुम्बिनी गुरुयोजना र विमानस्थललाई आवश्यक रकम पूर्ववर्ती सरकारले विनियोजन गरेको थियो, किन ढिलाई भएको छ ? आमनागरिकले अब विशेष चासोका साथ यसको जवाफ खोजिरहेका छन्’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्