एमालेले चितवनमा महाधिवेशन गरेर राम्रो गर्योः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गर्नु राम्रो भएको बताएका छन् । उनले चितवनको विकासका लागि अरु दललाई पनि यस्ता कार्यक्रम गर्न आह्वान गरेका छन् ।

नारायणी नदिकिनारमा पैदलमार्ग र पार्किङस्थलको शिलान्यास गर्दै उनले भने– धेरै पार्टीका कार्यक्रम चितवननै होस्, एमालेले पनि यहीं अधिवेशन गरेर राम्रो गर्यो ।

चितवन देशको राजनीतिक केन्द्र भएको भन्दै उनले एमाले महाधिवेशनमा आएकाले चितवनको विकास देखेर फर्किएको बताए ।

उनले शक्तिखोरमा सुरुङमार्ग र रेललाइन ल्याउने, मकवानपुर–चितवन–नवलपुर जोडेर बृहत्तर आर्थिक परियोजना ल्याइने पनि बताए ।

चितवन र भरतपुरमा हुने विकासको मोडललाई राष्ट्रिय रुपमै अध्ययनको विषय बनाउने गरी कामहरु गरिने उनको भनाइ थियो ।

नदि किनारमा साढे दुई किलोमिटरमा मोज्याक टायल राखेर पैदलमार्ग बनाइने गरी काम सुरु भएको छ । यस्तै ३ वटा पार्किङस्थल बनाइनेछ ।

भरतपुर महानगरका मेयर रेनु दाहालले नारायणी नदी किनारलाई पर्यटकीयय गन्तव्य बनाउने गरी काम सुरु भएको बताइन् ।

१८,मंसिर.२०७८,शनिबार ११:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्