अझै सुरु भएन राप्रपाको चुनाव, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

काठमाडौं । बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

(राप्रपा)को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । चुनावका लागि अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।

मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।

महामन्त्रीमा थापा प्यानलबाट कुन्ती शाही र लिङ्देन प्यानलमा परेकी नायिका रेखा थापाको प्रतिस्पर्धा चासोको विषय बनेको छ ।

महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

१८,मंसिर.२०७८,शनिबार १२:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्