नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चित

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चित बनेको छ । शुक्रवार नै प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो । तर केहि क्षेत्रमा प्रतिनिधि चयन नभएका कारण नेतृत्व चयन प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

आन्तरिक विवादका कारण प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन हुन नसकेको हो । सर्लाहीको चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र ४ र रौतहटको निर्वाचन क्षेत्र ४ मा प्रतिनिधि चयन नभएको काँग्रेसका प्रदेश सांसद नरेश यादवले जानकारी दिए ।

उनका अनुसार महोत्तरी क्षेत्र नम्बर ३ मा पनि विवाद देखिएको छ । त्यहाँ निर्वाचन गराउने जिम्मेवारी पाएका धिरेन्द्र मण्डलले आफूलाई अपहरण गरी एक पक्षले शनिवार जर्वजस्ती निर्वाचित भएको प्रमाणपत्र लिएको भन्दै राजीनामा दिएका थिए ।

उनको राजीनामा पछि उक्त क्षेत्रको अधिवेशन पनि अन्यौलमा परेको छ । सर्लाहीमा संस्थापन पक्ष र संस्थापनइतर पक्ष पटक पटक विवाद चर्केको छ ।

विवादका क्रममा प्रदेश मन्त्री विरेन्द्र सिंहका अंगरक्षकले हवाइ फायर नै गरेका थिए । विवादका कारण सर्लाहीका १० वटा वडाको अधिवेशन समेत गर्न बाँकी छ ।

प्रदेश २ का ६ निर्वाचन क्षेत्र र केहि वडामा चरम विवाद देखिएकाले तत्कालै प्रतिनिधि चयन गर्ने अवस्था छैन । कां‌ग्रेसका प्रदेश सांसद नरेश यादवले अब जिल्ला र प्रदेशको अधिवेशन महाधिवेशनपछि नै हुने सम्भावना बढेको बताए ।

जिल्ला र प्रदेशको अधिवेशन विषयमा छलफल गर्न आज प्रदेश २ का केन्द्रीय नेताहरुको बैठक जनकपुरमा बस्न लागेको उनको भनाई छ ।

१९,मंसिर.२०७८,आईतवार १४:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्