
काठमाडौं । बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा नेताहरुले गोर्खा सैनिकहरुको अधिकारको पक्षमा काम गर्न आग्रह गरेका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आचार्यको सुनुवाइका क्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङलगायतले बेलायती सेनामा कार्यरत र सेवा निवृत्त भएका नेपाली नागरिकको समान पेन्सन लगयतका समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
एमाले नेता पाण्डेले समान पेन्सनका लागि लामो समयदेखि आन्दोलनरत पूर्व गोर्खा सैनिकहरुको आवाज बलियो बनाउन आचार्यलाई आग्रह गरे ।
‘ब्रिटिस गोर्खा सैनिक समान पेन्सनका लागि लडिरहेका छन् । अहिले पनि यो प्रश्न उठिरहेको छ एउटा प्रजातान्त्रिक मूल्य मान्यता राख्ने देश, उसको जवाफदेहिता पनि हुन्छ यसमा, नेपालले आफ्नो अधिकारका लागि आवाज थप बलियो बनाउनैपर्छ’ उनले भने ।
एमाले उपाध्यक्षसमेत रहेका पाण्डेले बेलायतबाट नेपालमा लगानी ल्याउने विषयमा पनि पहल गर्न आचार्यलाई आग्रह गरे । उनले त्यहाँ रहेका गैर आवासीय नेपालीसँग नेपालमा लगानीका बारेमा छलफल गर्न सुझाव दिए ।
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले गोर्खा सैनिकको समस्या सुल्झाउन आचार्यलाई आग्रह गरे । उनले बेलायतसँगको सम्बन्ध नबिगारी नेपालको असंलग्न परराष्ट्र नीति कायम राख्ने चुनौती रहेको पनि बताए ।
‘अहिले विश्व बहुध्रुबमा गइरहेको छ । बहुध्रुबमा ब्रिटेन एउटा न एउटामा गइरहेको छ । नेपाल असंलग्न राष्ट्र, बेलायत एउटामा संलग्न राष्ट्र भएकाले यी दुई देशको सम्बन्ध कसरी अगाडि बढ्छ ?’ नेता देवले आचार्यलाई प्रश्न गरे, ‘नेपाल कसरी असंलग्न हुन सक्छ ? एउटामा संलग्न हुँदा हाम्रो स्वाधीनताको कुरा अगाडि आउँछ ।’
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्