बौद्धिक अपाङ्गता भएका परिवारलाई व्यक्तिगत सहयोगीको व्यवस्था गर्न सरकारसँग गरे माग

चितवन । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले बौद्धिक अपाङ्गता भएका परिवारलाई व्यक्तिगत सहयोगीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष राजु बस्नेतले हेरचाह गर्ने सहयोगीको व्यवस्था भए परिवार आयआर्जनका गतिविधिमा लाग्न सहज हुने बताए ।

‘बौद्धिक अपाङ्गता भएकाहरुलाई निरन्तर रेखदेख गर्नुपर्छ’, उनले भने, ‘अधिकांश अभिभावक रोजगारी, व्यवसाय नै छाडेर हेरचाहमा खटिएका छन्, परिवारको आत्मनिर्भरता बढाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ ।’

बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवारलाई रोजगारी सृजना गर्नुपर्नेमा उनले जोड दिए ।

केन्द्रीय महासचिव रामनारायण श्रेष्ठले हेरचाह गर्ने दिवा हेरचाह केन्द्रहरु सरकारले स्थापना गर्नुपर्ने बताए ।

‘शहरका केही परिवारले डे केयरमा राखेका छन्, तर गाउँतिर अधिकांस घरभित्रै छन्’, उनले भने, ‘हेरचाह केन्द्र बनेमा परिवारलाई राहत पुग्नेछ, कम्तिमा हरेक स्थानीय तहमा एउटा दिवा हेरचाह केन्द्र सरकाले सञ्चालन गर्नुपर्छ ।’

महासंघ मातहतका २१ वटा संस्थाले हेरचाह केन्द्र सञ्चालनमा ल्याएपनि सबैको पहुँच पुग्न सकेको छैन ।

२०६८ को जनगणना अनुसार १४ हजार ८ सय ८८ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । तर, यो तथ्यांक भन्दा धेरै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु भएपनि सबैको गणना हुन नसकेको महासंघको दावी छ ।

महासंघमा ३७ जिल्लाका ४० संस्थाहरु रहेका छन् भने ९ जिल्लामा सम्पर्क सञ्जाल विस्तार भएको छ । केन्द्रीय सदस्य सप्तरी राजविराजका जगदीशप्रसाद अर्यालले बौद्धिक अपाङ्गता भएका परिवार तथा व्यक्तिलाई राज्यले सधै उपेक्षा गरेको बताए ।

‘बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक पनि मन्त्री बने, नीति नियमहरु बने, तर कार्यान्वयनमा आएन’, उनले भने, ‘अन्य अपाङ्गता भन्दा बौद्धिक अपाङ्गता भएका व्यक्ति बढी समस्या छन्, तर राज्यले उल्लेख्य कामनै गरेन ।’

बौद्धिक अपाङ्गता भएका महिलामाथि हिंसा बढ्दो अवस्थामा रहेकाले अपराध विरुद्धको सचेतना बढाउदै दोषीलाई कारवाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा, सुरक्षित जीवनयापन, व्यक्तिगत सहयोगीको व्यवस्था लगायतका कामहरु हुनुपर्ने बताए ।

पर्वतका १३ वर्षिय बौद्धिक अपाङ्गता छोरीका बुबा गणेश सुवेदीले हेरचाह सम्बन्धि तालिम र राज्यस्तरबाट सहयोग गर्नुपर्ने औल्याए । यसैबीच महासंघको पाँचौ अधिवेशन भरतपुरमा आजदेखि सुरु भएको छ । अधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्नेछ ।

२०,मंसिर.२०७८,सोमबार १७:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्