बाइडेन राष्ट्रपति भएपछि अमेरिकी सेनाप्रतिको विश्वास घट्यो

काठमाडौं । अमेरिकामा पछिल्लो समय त्यहाँका नागरिकमा सेनाप्रतिको विश्वासमा कमी आएको एक सर्वेक्षणले देखाएको छ ।

गत हप्ता सार्वजनिक गरिएको रोनाल्ड रेगन इन्स्टिच्युटको सर्वेक्षण अनुसार पछिल्लो ३ वर्षमा सेनाप्रति पूर्ण विश्वास गर्ने अमेरिकीको संख्या २५ प्रतिशत विन्दुले घटेर ४५ प्रतिशतमा झरेको छ ।

जो बाइडेन राष्ट्रपति भएपछि पछिल्लो ९ महिनायता सेनाप्रतिको विश्वासमा ११ प्रतिशत विन्दुले घटेको देखिन्छ । र यो दर अन्य निकायको हकमा अझ कम छ । सर्वेक्षणमा सहभागीमध्ये केबल १९ प्रतिशतले राष्ट्रपति पदप्रति पूर्ण विश्वास रहेको बताएका छन् । जुन संख्या फेब्रुअरीमा ३० प्रतिशत थियो ।

त्यस्तै, पछिल्लो ३ वर्षमा कानुन पालना गराउने निकायप्रतिको विश्वास ५० प्रतिशतबाट घटेर ३३ प्रतिशतमा झरेको छ । सञ्चार माध्यमप्रतिको विश्वास समेत १६ प्रतिशतबाट घटेर १० प्रतिशत पुगेको छ ।

सर्वेक्षणमा सेनाप्रति विश्वास नभएको बताएका अधिकांशले ‘राजनीतिक नेतृत्व’ लाई मुख्य कारण उल्लेख गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये ४२ प्रतिशतले देशबाहिर हुने युद्ध अमेरिकी सेनाले जित्ने विश्वास रहेको बताएका थिए ।

सर्वेक्षणका क्रममा ‘कुन मुलुकसँग उत्कृष्ट सेना छ ?’ भनेर समेत सोधिएको थियो । ६९ प्रतिशतले अमेरिका र १७ प्रतिशतले चीनसँग उत्कृष्ट सेना रहेको बताएका थिए ।

झण्डै ५० प्रतिशतले अफगानिस्तानबाट अमेरिकी सेना बहिर्गमनमा देखिएको भद्रगोलको दोष बाइडेनको कमजोर विश्लेषण र २० प्रतिशतले कमजोर सैन्य योजना भएको उल्लेख गरेका थिए ।

सर्वेक्षणका क्रममा कोभिड-१९ को उद्गम स्थल र अमेरिकाको खतराबारे समेत प्रश्न सोधिएको थियो । ५२ प्रतिशत सहभागीले अमेरिकालाई चीनबाट सबैभन्दा ठूलो खतरा रहेको बताएका थिए ।

तर रुसलाई अमेरिकाको खतरा देख्नेको संख्या ३ वर्षको अवधिमा ३० प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ ।

२१,मंसिर.२०७८,मंगलवार १६:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्