संघीय सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

सर्लाही । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सम्पन्न सर्लाहीको सबैभन्दा विवादित क्षेत्र–४ को अधिवेशनमा संघीय सांसद अमरेशकुमार सिंह पराजित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका सिंहको प्यानल नै पराजित भएको हो । पौडल समूहनिकट मानिएका सिंहको मत संस्थापन पक्षभन्दा आधाभन्दा कम छ ।

क्षेत्र नम्बर ४ को वडा अधिवेशनमा दुई पक्षबीचको विवादले झडपसम्म भएको थियो । क्षेत्रीय अधिवेशन भने शान्तिपूर्ण तरिकाले सम्पन्न भएको थियो । त्यस क्षेत्रमा निर्वाचन हुन नसकेका दुई वडासहित विवाद देखिएको एक वडालाई सहभागी नगराई क्षेत्रीय अधिवेशन गरिएको थियो । संघीय सांसद सिंह र संस्थापन पक्षका प्रदेश सांसद वीरेन्द्र सिंहबीच प्रतिस्पर्धा भएको थियो । सांसद सिंहको प्यानलले संस्थापन पक्षभन्दा निकै कमजोर देखियो ।

क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा संस्थापन पक्षका रामआश्रय साह निर्वाचित भएका छन् । साहले ५ सय १७ मत ल्याए भने सांसद सिंह पक्षका हरेन्द्र सहनीले २ सय २७ मत मात्र ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका सबैजनाको मत ५ सय भन्दा बढी छ । महाधिवेशन प्रतिनिधिमा सांसद सिंहले २ सय ४८ मत मात्र ल्याए । वीरेन्द्र सिंह ५१४ मत ल्याएर विजयी भए ।

यस्तै मंगलबार अबेर राति क्षेत्र नम्बर १ बयलबासमा मतदान सम्पन्न भएपछि त्यहाँ मतगणनाको काम चलिरहेको छ । बुधबार बिहानसम्म क्षेत्र–१ मा १ सय मत मात्र गनिएको छ । त्यहाँ थप तीन स्थानमा मत गन्नका लागि तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । विवादका कारण बाँकी रहेका क्षेत्र–२ र ३ को मतदान प्रक्रिया अगाडि बढाइएको छ ।

२२,मंसिर.२०७८,बुधबार ११:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्