बूढानीलकण्ठको छलफलमा मलाई नबोलाउनु स्वभाविक, म आफ्नै तयारीमा छु : विमलेन्द्र निधि

काठमाडौँ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट कस-कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न आफ्नो गुटको बैठक बोलाएका छन् ।

बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा देउवाले नेताहरूसँग परामर्श भइरहेको छ । तर निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् । कान्तिपुरसँग कुरा गर्दै सभापति पदका आकांक्षी निधिले भने, ‘म संस्थापनको टिममा छैन । मलाई नबोलाउनु ठीकै हो । म गएको छैन। म आफ्नै तयारीमा छु।’

पौडेल समूहले सभापतिमा साझा उम्मेदवार उठाएको खण्डमा निधिले उम्मेदवारी चासोको विषय हुन सक्छ । निधि पनि सभापतिका लागि आफ्नो टिम बनाउने तयारीमा लागेका छन् । देउवा समूहबाट उपसभापति बनेका निधिले देउवालाई आफूलाई अघि सार्न आग्रह गर्दै आएका छन् । तर, देउवाले उनलाई सोधीखोजी गर्न छाडेपछि निधिले आफू एक्लै प्रतिस्पर्धामा जाने तयारी अघि बढाएका छन् ।

देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत आकांक्षी छन् । आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।

२२,मंसिर.२०७८,बुधबार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्