जयशंकरले भने, ‘नेपाललाई सघाउन भारत जुनसुकै बेला तयार छ’

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले बिना हिच्किचाहट नेपाललाई सघाउन भारत तयार रहेको बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले नेपालले सफलतापूर्वक पुननिर्माण सम्पन्न गर्न लागेकोमा बधाइ दिए ।

नेपाललाई खोप र औषधिसहित कोभिड महामारीविरुद्ध भारतले सहायता जारी राख्ने बताउँदै उनले विपत्तिमा अन्तर्राष्ट्रिय सहायताको जरुरी भएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० सम्मेलनमा व्यक्त गरेको ‘वान अर्थ वान हेल्प’ नीति अनुसार नै भारतले सघाउने उनको भनाई छ ।

भारतले अहिलेसम्म नेपालका ७० वटा विद्यालय र पुस्तकालय, २८ सम्पदाको पुननिर्माणमा १५० मिलियन अमेरिकी डलर खर्च गरेको जानकारी भारतीय विदेशमन्त्रीले दिए । बाँकी ४३ वटा नेपाली सम्पदा पुननिर्माणमा भारतले २६० मिलियन डलर लगानी गर्ने पनि उनले बताए ।

भूकम्प गएको ६ घण्टामै उद्दारको लागि भारतले नेपालमा सघाएको बताउँदै उनले नेपाललाई सघाउन भारत जुनसुकै बेला तयार रहेको समेत बताए ।

२२,मंसिर.२०७८,बुधबार १२:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्