ललितपुर महानगरपालिकाले मंगलबजारमा म्हँ पूजाको दिन आगलागीमा परी मृत्यु तथा घाइते भएकाको परिवारलार्ई १० लाख रुपैयाँ दिने

ललितपुर। ललितपुर महानगरपालिकाले मंगलबजारमा म्हँ पूजाको दिन आगलागीमा परी मृत्यु तथा घाइते भएकाको परिवारलार्ई १० लाख रुपैयाँ दिने भएको छ ।
गत कात्तिक १९ गते म्ह पूजाको दिन दियोबाट सल्केर भएको आगलागीमा परी मंगलबजारका ६७ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार, उनकी ३५ वर्षकी छोरी अञ्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाती निर्जलको मृत्यु भएको थियो ।

महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए । बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधि उपचारको खर्च समेत महानगरले व्यहोर्ने निर्णय गरेको छ ।

‘त्यो क्षति अपुरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौं’ मेयर महर्जनले भने । आगलागीबाट करिब २० लाखको क्षति भएको अनुमान गरिएको छ । यसअघि आगलागी पीडित परिवारलाई महानगरको वडा नम्बर १२ को विपद् व्यवस्थापन समितिले एक लाख रुपैयाँ सहयोग गरेको थियो ।

उनले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताए ।

आगलागीमा परेकामध्ये लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किएका छन् भने ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा छिन् ।

२३,मंसिर.२०७८,बिहीबार १३:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्