गुल्मीमा ४० वटा महिला हिंसा सम्बन्धी उजुरी

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार जिल्लामा पनि यस आर्थिक वर्षमा मात्रै ४० वटा उजुरी महिला हिंसा सम्बन्धी परेको बताए । त्यसमध्ये ३१ वटा घटनालाई मिलापत्र गराएर छोडिएको र ९ वटा महिला हिंसाका घटना जिल्ला अदालत पठाएएको भट्टराईले बताए।

जिल्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराइले जिल्लाको तथ्याङ्क सार्वजनिक गरेका थिए । उनले रेसुङ्गा नगरपलिकामा सहभागीहरुलाई लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण दिंदै भट्टराईले संसारका ३५ प्रतिशत महिलाहरुले लैङ्गिक हिंसा व्यहोरिरहेको तथ्य प्रस्तुत गरे ।

भट्टराईका अनुसार ३८ प्रतिशत महिलाको हत्या आफ्नै यौन साथीबाट हुने गरेको छ । यस्तै नेपालमा ४० प्रतिशत महिलाहरुले मानसिक हिंसा, २७ प्रतिशतले शारीरिक, १५ प्रतिशतले यौन हिंसा र ८ प्रतिशतले आर्थिक हिंसा व्यहोर्ने गरेको उनले बताए।

उनका अनुसार नेपालका १५ देखि ४९ वर्षका महिलाहरुमध्ये २२ प्रतिशतले शारिरीक र १२ प्रतिशतले यौन हिंसा व्यहोर्ने गर्छन् । नेपालका ६६ प्रतिशत महिलाहरुलाई लैंगिक हिंसा सम्बन्धी कुनै ज्ञान नभएको उनले उल्लेख गरे ।

त्यस अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सामाजिकीकरणका कारण महिला हिंसाका घटना हुने गरेको बताए । उनले महिला हिंसा अन्त्यका लागि प्रहरी प्रशासनको ध्यान भने ३६५ दिन नै हुनु पर्नेमा जोड दिए ।

२४,मंसिर.२०७८,शुक्रबार १३:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्