
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आन्तरिक शिक्षक बढुवामा अन्याय गरेको भन्दै एक जना सहप्राध्यापकले त्रिवि पुनरावेदन आयोगमा उजुरी दिएका छन् ।
नेपाली विषयको प्राध्यापक पदको आन्तरिक बढुवामा नपरेका सहप्राध्यापक विदुर चालिसेले उजुरी दिएका हुन् ।
त्रिविले बनाएको मापदन्ड अनुसार योग्यता, कार्यक्षमता, सेवा अवधिको मूल्यांकन, कृति, अन्तर्वार्ता सबै गर्दा पहिलो नम्बरमा आफ्नो नाम निस्किनुपर्ने उनको दावी छ । चालिसेले भने, ‘त्रिविले बनाएको मापदण्ड अनुसार पहिलो नम्बरमा निस्किनुपर्ने मेरो दाबी हो । तर निस्केन । मेरो कृतिहरुको पनि मूल्यांकन भएको छैन ।’
अन्तर्राष्ट्रिय स्तरको जर्नलको मूल्यांकनसमेत सेवा आयोगले नगरेको उनको दावी छ । उनले आफू असफल हुनुपर्ने कारण नभए पनि त्रिवि सेवा आयोगले अन्याय गरेपछि उजुरी दिन बाध्य भएको बताए । उनले भने, ‘म असफल हुनुपर्ने कुनै पनि कारण छैन । मेरो योग्यता, क्षमता, अनुभव, कार्यसम्पादन मूल्यांकन, कृतिको हिसाबले पहिलो हुनुपर्ने थियो । तर त्रिवि सेवा आयोगले अन्याय गरेपछि पूनरावेदन आयोगमा उजुरी दिएको हुँ।’
त्रिवि सेवा आयोगले पारदर्शी नगरेको कारण आफू अन्यायमा परेको उनको भनाइ छ। त्रिवि पुनरावेदन आयोगले उजुरीमाथि निष्पक्ष छानबिन गरी न्याय दिलाउने विश्वस्त रहेको बताउँछन् ।
सेवा आयोगले २०७७ फागुन ९ गते विज्ञापन विभिन्न पदमा बढुवाका लागि विज्ञापन गरेको थियो । त्रिवि शिक्षक, कर्मचारी सेवा शर्तसम्बन्धी नियम ७ को उपनियम ४ तथा त्रिवि शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम ३० को उपविनियम (७) मा नतिजा माथि चित्त नबुझेमा लिखित पुनरावेदन-उजुरी दिन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्