
धनगढी । कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरिएको जानकारी दिए ।
बेलौरी नगरपालिका-६ को नकैयास्थित नेपाल-भारत सीमा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको शाहले बताए ।
उनका अनुसार उनीहरूको साथबाट १०.४२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्