नेपाल आउनेले ७ दिन क्वारेन्टिन बस्नु नपर्ने, विरोधपछि सरकारले सच्यायो निर्णय

काठमाडौं । पर्यटन व्यवसायी र अन्यको समेत विरोध भएपछि विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय सरकारले सच्याएको छ । अब तत्काल सो निर्णय कार्यन्वयन नहुने अध्यागमन विभागले जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।

जर्मनी, बेल्जियमसहितका युरोपेली मुलुकसहित मलेसियाबाट नेपाल आउनेले अनिवार्य सातदिन क्वारेन्टिन बस्नुपर्ने सरकारको निर्णय थियो । ती मुलुकमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएपछि अध्यागमनले आगमन व्यवस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय बमोजिम क्वारेन्टिन नियम ल्याएको थियो ।

तर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ ।

३,पुष.२०७८,शनिबार ११:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्