
रुपन्देही । गतवर्षदेखि सुरु भएको राष्ट्रिय गौरवका आयोजनाअन्तरगत रुपन्देहीको तिनाउ–दानव करिडोरको २० प्रतिशत पनि काम पूरा नहुँदै स्थानीयले अवरोध गर्न थालेका छन् ।
रुपन्देहीको उत्तरीदेखि दक्षिणी सिमानासम्म पुगेका तिनाउ र दानव नदी छेउमा तटबन्धसहितको करिडोर निर्माणका लागि सरकारले एक वर्ष अघिदेखि काम सु्रु गरेको थियो ।
राष्ट्रिय गौरवको आयोजनामा परेको यो योजनाको शुरुवात गतवर्ष मंसिर १० गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शुभारम्भ गरेका थिए । यो योजनाले रुपन्देहीलाई देशकै नमूना सडक बनाएर सबैलाई हेर्न आउने बनाउने पौडेलले बताएका थिए ।
महत्वाकांक्षी योजनामा रहेको यो करिडोरले रुपन्देहीको तिनाउ र दानव कोरिडोर सडक निर्माणले बुटवलदेखि मर्चवारसम्मलाई जोड्ने छ । दुवै नदीमा गरी करिब ५० किलोमिटर पर्ने यो आयोजनाका लागि ४ अरब १३ करोडको लागत अनुमान गरी पहिलो चरणमा १ अरब ३५ करोड रकम छुट्टाइएको थियो ।
तर स्थानीयले करिडोरबाट क्षति हुने घर जग्गावालाहरुलाई उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै तिनाउ दानव करिडोर पीडित संघर्ष समिति गठन गरेर काम रोक्नेसम्मका आन्दोलन घोषणा गरेको छ ।
समितिले आइतबार विभिन्न मागसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेसँगै आयोजनाले अब कसरी काम अगाडि बढ्ने भन्ने अन्योलमा परेको छ । संघर्ष समितिले बुटवल उपमहानगरपालिका प्रमुखलाई तथा बुटवलका वडा नं ९, २, ५, ७, ११, १२, १३, १४ र १७ का वडाअध्यक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाउने, राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिसंग अन्तरक्रिया तथा विरोध प्रदर्शन गर्ने, १३ गते धर्ना दिने र माग सम्बोधन नभए रानीगंज हरियाली टोल र तिलोत्तमा टोलमा सुरु भएको काम रोक्ने चेतावनीसहितका कार्यक्रम घोषणा गरेको छ ।
घर जग्गावालाहरुलाई उचित व्यवस्थापन र क्षतिपूर्ति नभएसम्म करिडोरको काम संचालन हुन नदिने संघर्ष समिति अध्यक्ष आत्मराम रानाले बताए । समितिका उपाध्यक्ष राजु शाहीले विगत ३० वर्षदेखि बसोबास गर्दै आएको क्षेत्रमा करिडोरको नाममा स्थानीयहरुलाई उठिबास लगाउने कार्य आफूहरुलाई मान्य नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्