
चितवन । चितवनमा आजबाट ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलका अनुसार ई-पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् ।
उनले आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई-पासपोर्ट दिइने जानकारी दिए । ‘केही दिन दैनिक २० जनाका दरले अनलाइनबाट आवेदन भरेकालाई ई-पासपोर्ट वितरण गर्छौं, यो हाम्रो ट्रायल फेज जस्तो पनि हो,’ सूचना अधिकारी पौडेलले भने, ‘अर्को आइतबारबाट यसलाई बढाउँदै लैजान्छौं ।’
अनलाइनबाट भरिने ई-पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । मोबाइलबाट पनि फारम भर्न मिल्छ । नागरिकता र फोटो ४ सय केबीसम्मको अपलोड हुने सूचना अधिकारी पौडेलले बताए ।
उनले आफैंले भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा आएर पनि कम शुल्कमा अनलाइनबाट फारम भर्न पाउने व्यवस्था गरिएको बताए ।
यस्तै अनलाइन फारम भर्ने सेवा दिने पसलहरुमा गएर पनि भर्न सकिने छ । त्यसका लागि शुल्क तोक्ने तयारी छ ।
सरकारले काठमाडौंस्थित राहदानी विभागबाट १ मंसिरदेखि ई-पासपोर्ट वितरण सुरु गरेको थियो । पहिलो ई-पासपोर्ट शताव्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्